सुन प्रकरणमा ललितपुरबाट दिपेश पुन पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुनका छोरा दीपेश पुन आज केही बेर अघि ललितपुरको झम्सिखेलबाट पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई पक्राउ गरेको गृह मन्त्री रवि लामिछानेले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

गत साउन २ गते बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो ।

छिरिङसँग उनले केही कम्पनीमा साझेदारी समेत गरेका थिए । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।

छानबिन आयोगका एक सदस्यका अनुसार, दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरूसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ । ०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइँकुण्ड गएका थिए । अमला रोका सुन प्रकरणमा फरार छिन् ।

पछिल्लो समय जुनसुक्कै व्यक्ति पनि कुनै पनि भ्रष्टाचारको मुद्धामा संलग्न रेहको देखिए कानुनी दायरामा ल्याएरै छोड्ने सरकारले जनाई रहेको छ ।

Share