मन्त्रीलाई शपथ खुवाउँदै गर्दा प्रदेश प्रमुखको नै पद गएपछि…

कैलाली । यति खेर देशमा राजनीतिक माहोल निकै तातेको छ । केन्द्रिय राजनीतिको सत्ता समीकरण फेर बदलले केन्द्र देखि स्थानीय तहसम्मै हलचल पैदा भएको छ । केन्द्रको सत्ता समीकरण फेर बदले स्थानीय तहमा समेत सोही किसिमले जनप्रतिनिधि आफ्नो पक्ष विपक्ष बनाउँछन् भने प्रदेशमा त्यसको प्रभाव नपर्ने त कुरै भएन ।

विशेष गरी यही फागुन २१ गतेको केन्द्रीय सत्ता समीकरणको फेर बदलले यति बेला प्रदेश सरकारहरू निकै ठूलो चपेटामा परेका छन् । केन्द्रीय समीकरण अनुसार नै प्रदेशमा पनि सरकार बन्ने प्रवृत्तिले यति बेला कांग्रेस-माओवादी केन्द्रको सत्ता समीकरण फेर बदल भई एमाले-माओवादीको सत्ता समीकरण बन्द सोही अनुसार प्रदेश सरकार पनि पुनर्गठन गर्ने तयारीमा छन् । जसको लागि कुन कुन पार्टीलाई साथमा लिँदा बहुमत पुग्छ भन्ने तर्फ दलहरू लागि परेका छन् । तर केन्द्रमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेपाली कांग्रेस पनि प्रदेश सरकार बनाउन लागि परेका छ । सोही दौड धूपमा प्रदेशका नेता लागि परेका छन् ।

सबै प्रदेशमा यसको प्रभाव परेकाले यसबाट सुदूरपश्चिम पनि अछुत रहन सकेन ।

यति खेर सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व भने नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहले गरी रहेका छन् । तर २१ गते फेरिएको समीकरणका कारण उनलाई समर्थन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि शाह पनि अल्पमतमा परी सकेका छन् । तर उनले यतिखेर प्रवेश सभामा ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीलाई साथमा राखेर सरकार पुनर्गठन गरेका छन् । गत शुक्रबार उन्मुक्तिको तीन जनालाई मन्त्री नियुक्त गर्दै सरकारको पुनर्गठन गरेका मुख्यमन्त्री शाहले आज फेरि उन्मुक्तिकै प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका छन् । यो सँगै उन्मुक्तिबाट मन्त्री हुनेको सङ्ख्या ५ पुगेको छ ।

यसअघि शुक्रवार उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए। सोही पार्टीबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका थिए ।

आजको रोचक कुरा त के भने जब लक्ष्मणकिशोर चौधरीलाई शपथ खुवाउँदै गर्दा प्रदेश प्रमुख देवराज जोशीको नै पद गयो ।उनले मन्त्रीलाई शपथ त खुवाए तर आफ्नै पद जोगाउन सकेनन् । केन्द्रको सत्ता समीकरण फेरिएसँगै प्रदेश पनि सोही अनुकूल हुनु पर्ने भन्दै सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

उनले मन्त्रीलाई शपथ त खुवाए तर आफ्नै पद जोगाउन सकेनन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँलाई मनोनयनको लागि सिफारिस गरेको सरकारकी प्रवक्ता रेखा शर्माले सञ्चार माध्यमहरूसँग कुरा गर्दै जानकारी दिइन् ।

प्रवक्ता शर्माले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौ पदमुक्त गरेको हौं । प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिकरूपमा सहज होस् । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान होस् भनेर हामीले यस्तो गरेका हौं ।’

यसरी सरकार बचाउनकै लागि अनेक प्रकारका कसरत गरिरहेका मुख्यमन्त्री शाहले आज मन्त्री नियुक्त गरे तर आजै प्रदेश प्रमुख समेत पद मुक्त भए ।