नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम अवैधानिक ठहर  

कैलाली । बिहीबार निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरिदिएको छ ।

गत पुस २७ गते कैलालीको टीकापुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार उनमुक्तिले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा गत माघ २९ मा निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नागरिकको अध्यक्ष मान्न अस्वीकार गरेको जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार उन्मुक्तिको निर्वाचन आयोगमा यस अघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय गरेको छ । आयोगमा भएको अभिलेखमा उन्मुक्तिको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी नै कायम रहेकी छन् ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए ।

उनले कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन गरेको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमले आफैं अध्यक्ष बनेका थिए ।

उनले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए । त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले उन्मुक्ति र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो ।

त्यस विषयमा चौधरीले जवाफ पठाएपछि बिहीबार दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय गरेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका हुन ।

निर्वाचन आयोगको निर्णय

 

Share