कैलाली । सोमवार केन्द्रको सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशहरूमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । यसबाट सुदूरपश्चिम प्रदेश सरकार पनि चोखाे रहन सकेन ।
प्रदेश सरकारबाट बुधबार नेकपा माओवादी केन्द्रले हात झिक्दा बिहीबार एकीकृत समाजवादीले पार्टीले पनि सरकारलाई दिएकी समर्थन फिर्ता लिएको छ । समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले आज बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका थिए । ‘हामीले मुख्यमन्त्री शाहलाई भेटेर समीकरण फेरिएको जानकारी गराएका छौं। सरकारबाट बाहिरिएसँगै आजै समर्थन पनि फिर्ता लिन्छौं,’ उनले भने।
उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय पनि मुख्यमन्त्री शाहले आफैसँग राखेका हुन् ।
अब मुख्यमन्त्री शाहसँग नागरिक उन्मुक्ति पार्टीको मात्रै समर्थन रहेको छ। मुख्यमन्त्रीसँग नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्तिका ७ गरी २५ सांसदको मात्र समर्थन छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतीय सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक हुन्छ।
हाललाई उन्मुक्तिले पुरानै समीकरणमा रहने वा नयाँ सत्ता समीकरणमा जाने कुनै ठोस निर्णय गरेको छैन । त्यसकारण प्रदेशमा पनि उसले कुनै निर्णय गरेको छैन ।
अब शाहले सरकार जोगाउन उनमुक्तिसँगै राप्रपा र एक स्वतन्त्र सांसदलाई साथमा लिनु पर्ने छ । तर उन्मुक्तिको फिर्ता लिने बित्तिकै भने उनको सरकार स्वतः अल्पमतमा पर्ने छ ।
हाल सूदुरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादीका सभामुख सहित ११, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद, राप्रापा एक र एक स्वतन्त्र सांसद छन् ।
उता प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेका १० सांसद रहेको छ्न् । ५३ सदस्यीय भएपनि हाल ५२ जना मात्रै रहेका छन् ।













