कैलाली । आज देखि काठमाडौंको टीयू क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्याण्ड्स बीच त्रिकोणात्मक टी २० सिरिज सुरु हुँदै छ । जसको पहिलो खेलमा घरेलु टोली नेपालले नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्ने छ । खेल बिहान ११:३० बजे सुरु हुने छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ को नेपालमा भएको त्रिकोणात्मक खेल पछि यी तीनै देशले टी २० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । जसमा नेपालले जुनमा हुने टी २० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्याण्ड्स पनि विश्वकप खेल्दैछन् । उनीहरूका लागि पनि यो निकै महत्वपूर्ण समय हो । त्यस कारण यी तीन देश टी २० सिरिज खेल्न लागेका हुन् । विश्वकपमा नेपाल र नेदरल्याण्ड्स एकै समूहमा रहेका छन् ।
नेपालले विश्वकप लिग २ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली यस अघि नै घोषणा गरिसकेको छ । एकदिवसीय खेलको टोलीमा समावेश भएका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ यस टी २० आई टोलीमा अटाएका छैनन् । टोलीमा प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशिद खान, सागर ढकाल र अविनाश बोहोरा थपिएका छन् ।
नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिने भएको छ । नेदरल्याण्ड्सले पनि एकदिवसीय टोलीमा परिवर्तन गरेको छ । बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेनलाई टोलीमा ल्याएको छ ।
यो त्रिकोणात्मक सिरिज यी तीन देश टी २० विश्वकपको तयारी स्वरुप खेली रहेका छन् । आजको खेलमा जित हात पार्दै सिरिजमा सुखद सुरुवात गर्ने दाउमा नेपाल रहेको छ ।
तर, नामिबिया पनि त्यति कमजोर छैन भर्खरै सम्पन्न एकदिवसीय लिग २ मा खेलेका दुवै खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो । यस सिरिजमा रहेका तिनै टोली उस्तै रहेका छन् । त्यसकारण जसले पनि आफ्नो पक्षमा नतिजा निकाल्न सक्छन् । तर नेपालले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै दुवै टोलीलाई पराजित गरी नतिजा आफ्नो हात पार्न सक्छ । नेपालका लागि त्यही एउटा अवसर बलियो आधार रहेको छ ।













