कैलाली । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको नवौं कैलाली जिल्ला अधिवेशनलाई उद्घाटन गर्न जिल्लाको घोडाघोडी नगरपालिका-१, सुखडमा पुगेका अध्यक्ष ओलीले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन, हामीले ३ सय ९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’ साथै उनले वर्तमान सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको समेत उल्लेख गरे ।
“सदनमा मैले जहिले पनि भन्ने गर्छु तपाईँहरूले गरेको कुनै एक गतिलो काम देखाउनुस् तर प्रधानमन्त्रीले कुनै जवाफ नै दिनु हुन्न, गरेको भए पो देखाउनु हुन्थ्यो ? गर्दै गर्नु भएको छैन् अनि कहाँबाट देखाउनु हुन्थ्यो !”,अध्यक्ष ओलीले भने ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व सम्हालेको एक वर्ष पुगिसक्दा अझै भाषण गर्दा ‘जहिले हामी काम गर्छौँ, सच्चिन्छौँ मात्रै भन्नुहुन्छ, ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिए अब कहिले सच्चिने हो ?’, भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।
साथै उक्त कार्यक्रममा ओलीले अहिले मुलुक गम्भीर मोडमा रहेको समेत उल्लेख गरे । उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । स्वाधीनता र स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’
सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको भन्दै ओलीले भने, ‘यो गरिबलाई हेप्ने, न्याय नदिने बलियाका पक्षको सरकार हो, क्विन्टलको क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन । सरकार निरीह छ, तस्कर हेर्दा आफ्नै मान्छे भेट्छ, कारबाही गर्न सक्दैन ।’












