कैलाली । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले बिहीबार आज भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद तथा ८० लाख रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो।
उनीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यात, पूर्व सचिव छविराज पन्तले मन्त्री परिषद्को निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष कैदसँगै ८० लाख रुपैयाँ जरिवाना सुनाएको हो। यस्तै राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही सजाय सुनाएको छ।
उनीहरूलाई जस्तै कसुर गरेको अभियोग लागेका तीन जना पूर्व मन्त्रीहरूलाई भने विशेष अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले रहेका छन् ।
उनीहरूले नीतिगत निर्णय गरेको भन्दै सफाइ दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले फैसला सुनाएका थिए । साथै पूर्व सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन्।












