क्यानडासँगको पहिलो खेलमा नेपालको रोमाञ्चक जित, कप्तान पौडेलको उत्कृष्ट बलिङ

जित पछि रमाउँदै नेपाली खेलाडी/ तस्बिर : साजन लामिछाने 

कैलाली । नेपाल र क्यानडा बिच बिहीबार देखि काठमाडौंमा सुरु भएको तीन खेलको एकदिवसीय शृङ्खलामा घरेलु टोलीले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा घरेलु टोली नेपालले ७ रनको रोमाञ्चक जित हात पार्दै शृङ्खलामा अग्रता बनाएको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन मात्रै बनाउन सक्यो । 

२ सय २५ रनको मध्यम लक्ष्य लिएर मैदान प्रवेश गरेको क्यानडाले सुरुवात राम्रो गरे पनि मध्यम क्रमका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा अन्ततः हार बेहोर्न पुग्यो । उसका ओपनर आरोन जोनसन २० र अर्का ओपनर ६ नवनीत धालिवाल ६ रनमा पेभिलियनको बाटो फर्किएपछि टोली केही कठिन मोडमा पुगेको थियो । पछि निकोलस कीर्तन र परगट सिंहले अर्धशतकीय पारी खेल्दै जितको आश देखाएका थिए । कीर्तनले ६८ तथा सिंहले ५० रनको पारी खेलेका थिए । तर दुबै खेलाडी पेभिलियनको बाटो फर्किएपछि टोली केही धराशायी बन्न पुग्यो । पछि क्रिजमा आएका हर्ष ठाकरले ३२ रनको पारी खेल्न बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

३३ ओभरको समाप्तिमा १७४/४ को बलियो स्थितिमा रहेको क्यानडा ४०.४ ओभरमा पनि १९५/६ को बलियो स्थितिमा रहेको थियो तर अन्तिम समयमा नेपालका स्पिनर कप्तान रोहित पौडेल र ललित राजवंशी ब्याटर माथि हाबी हुन् पुगे । त्यसपछि ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रनमा समेटिन पुग्यो ।

क्यानडाको पारी ध्वस्त पार्न नेपालका स्पिनरले निकै राम्रो लय समाते । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८. ओभर बलिङ गर्दै सर्वाधिक ४ विकेट हात पारे । पौडेल आफै नेपाली टोलीका लागि स्पिनर बलर भने हैनन् । उनी ब्याट्सम्यान हुन् । टोलीका लागि पार्टटाइम बलिङ गर्छन् । तर केही समय यता उनले टोलीमा प्रमुख स्पिनरको भूमिका निभाउदै आएका छन् । उनकै प्रदर्शनमा नेपालले आज जित हात पार्न सफल रह्यो । यस्तै अर्का स्पिनर राजवंशीले २ विकेट हात पार्दा नेपालका प्रमुख हतियार तिव्र गतिका बलर सोमपाल कामी रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान १ विकेट हात पारेका थिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय पारी खेल्न बाहेक बाकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भुर्तेलसँगै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ रन तथा पवन सर्राफले १५ रनको योगदान गर्दा बाँकी खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङतर्फ क्यानडाका उदय भगवानले सर्वाधिक ३ विकेट हात पारे । यस्तै कप्तान साद बिन जफरईश्वरजोत सिंह सोहीले समान २ तथा हर्ष ठाकरशाहिद अहहमदजाईले एकएक विकेट लिन सफल रहे ।

उत्कृष्ट बलिङ गरेका नेपालका कप्तान पौडेल क्यान अफ दि म्याच घोषित भए ।

नेपाल र क्यानडा बिच तीन खेलको एकदिवसीय शृङ्खला हुने छ । सोही अनुसार क्यानडाको राष्ट्रिय टोली नेपाल भ्रमणमा रहेको छ । आजको खेल हात पारेसँगै नेपालले तीन खेलको शृङ्खलामा १-० को अग्रता कायम गरेको छ । 

शृङ्खलाको दोस्रो खेल शनिबार हुने छ । 

रोमाञ्चक कुरा त के भने क्यानडाको टोलीको मुख्य प्रशिक्षकमा नेपाली टोलीका पूर्व प्रशिक्षक पुबुदु दशा नाइके रहेका छन् । जसले गर्दा क्यानडियन टोलीलाई सहज तुल्याई रहेको छ । किनभन्दा नेपाली खेलाडीको बारेमा नाइके सबै कुराका जानकार रहेका छन् । त्यसकारण टोली नेपाली टोलीको सामना गर्दा क्यानडियन टोलीलाई कुनै समस्या छैन् । नेपाल विरुद्ध रणनीति दशा नाइके सहजै बनाउन सक्छन् ।

Share