यू १९ विश्वकप : चन्दको उत्कृष्ट प्रदर्शन र खनालको कप्तानी पारीसँगै नेपाल सुपर सिक्समा, को सँग खेल्ने छ अव ?

तस्बिर आईसीसी

कैलाली । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२४ को सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ । 

शुक्रबार नेपालले समूह डी को अन्तिम तथा निर्णायक खेलमा अफगानिस्तानमाथि १ विकेटको सनसनीपूर्ण जित निकाले पछि सुपर सिक्समा पुगेको हो । 

समूह चरणका २ खेलमा अङ्क विहीन बनेका यी दुवै टोलीका लागि शुक्रबारको खेल अति नै महत्वपूर्ण रहेको थियो । अर्को चरणमा पुग्न दुवै टोलीलाई जित्नै पर्ने दवाव थियो । जसमा नेपालले एसिया कपको हारको बदला लिँदै बाजी मार्न सफल भयो । 

द.अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा होमिएको अफगानिस्तानलाई नेपाली बलरहरूले नतमस्तक बनाई दिए । नेपाली बलरसामु खुलेर खेल्न नपाएका अफगानी ब्याट्सम्यानले ठूलो योगफल तयार गर्न सकेनन् । परिणामस्वरूप ४० ओभर १ बलमा सबै विकेट गुमाएर जम्मा १ सय ४५ रनमा समेटिन पुग्यो ।

उसका लागि अल्लाह घजनफर ३७ , कप्तान नसीर खान ३१, फरिदुन दावुदजाई २९ र हसन इशाखिल २० रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । अफगानीको पारीलाई सस्तैमा ध्वस्त गर्न नेपालका बलर आकाश चन्दले किफायति बलिङ गरे । उनले ८ ओभरमा ३४ रन खर्चेर महत्वपूर्ण ५ विकेट हात पारे । ५ विकेट हात पारेका उनी ‘म्यान अफ दि म्याच’ घोषित भए । 

उसो त चन्दले मात्रै शुक्रबारको खेलमा किफायति बलिङ गरेका हैनन् । सुवास भण्डारी, तिलक राज भण्डारी र दिपेश प्रसाद कँडेलले समान ८ ओभर बलिङ गर्दै रन दिन कन्जुस्याईँ गरेका थिए । 

कँडेलले ८ ओभरमा मात्रै १७ रन खर्चेर २, सुवास भण्डारीले ८.१ ओभरमा मात्रै १५ रन खर्चेर १, तिलकले पनि ८ ओभरमा २८ रन खर्चेर एक विकेट हात पारे । उक्त खेलमा केही महँगा सावित भएका गुल्सन झा मात्रै हुन । उनले ८ ओभरमा ४२ रन खर्चेर १ विकेट हात पारे । 

१ सय ४६ रनको समान्य विजयी लक्ष्य लिएर मैदान पसेको नेपाललाई पनि अफगानी बलरले दबाबमा राखे ।

४.२ ओभरमा नेपालका ओपनर अर्जुन कुमाल मात्रै १० रनमा पेभेलियनको बाटो फर्किए । त्यसपछि आएका गुल्सन झा १२ बलको सामना गर्दै मात्र १ रनमा पेभेलियन फर्किए । नेपालको एकपछि अर्को विकट पतन रोकिएन । अर्का ओपनर तथा विकेट किपर बिपिन रावल पनि १९ बलको सामना गर्दै २ रनमा आउट भए । यसरी विकेट पतन नरोकिए पनि एउटा इण्डबाट कप्तान देव खनालले पारी सम्हाल्दै जाँदा भने अर्को इण्डबाट आकाश त्रिपाठी, दीपक बोहरा जस्ता खेलाडीले साथ दिई रहे । त्रिपाठीले १६ रनको योगदान गर्दा बोहराले २७ रनको योगदान गरे । टोलीलाई सम्हालि रहेका कप्तान खनालले ८९ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेल्दै आउट भए । बोहरा पनि आउट हुँदा नेपालको हातमा दुई विकेट बाँकी थियो । क्रिजमा सुवास भण्डारी र आकाश चन्द थिए । तर चन्द पनि मात्र १ रनमा पेभेलियन फर्किएपछि नेपाल सङ्कटमा पर्यो । तर भण्डारीले संयमता अपनाएर खेले र टोलीलाई जित दिलाएर छोडे । नेपालसँग ओभर अझै बाँकी थियो तर हातमा विकेट थिएन । नेपालको हातमा मात्रै एक विकेट थियो जितका लागि पनि मात्रै एक रन । अफगानी कप्तानले आफ्ना खेलाडीलाई भित्र बोलाउँदै भण्डारीलाई रन चोर्न नदिने योजना बनाई सकेका थिए, तर चतुर भण्डारीले ४४ ओभरको चौथो बलमा एक रन लिएरै छोडे र जित दिलाए । 

नेपाल विजयी भएसँगै समूह ‘डी’ बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ । 

यी तीन टोली समूह ‘ए’ बाट आउने तीन टोलीसँग सुपर सिक्समा भिड्ने छन् । समूह ‘ए’ बाट भारत र बङ्गलादेशले शीर्ष २ मा रहँदै सुपर सिक्समा स्थान पक्का गरेका छन् । अव को सँग खेल्दै छ नेपाल 

सुपर सिक्सको समीकरण पूर्ण रुपमा पुरा नभई सके पनि समूह ‘बी’ र ‘सी’ बाहेक समूह ‘ए’ र ‘डी’ को सुपर सिक्सका टोली लगभग पक्का जस्तै भइ सकेका छन् । सुपर सिक्सको नियम अनुसार समूह ‘ए’ र ‘डी’ तथा समूह ‘बी’ र ‘सी’ का टोली भिड्ने छन् । 

अझ यसरी भिड्नेमा नेपालले समूह ए को पहिलो र दोस्रो स्थानमा रहेर आउने टोलीसँग खेल्नुपर्ने हुन्छ । सुपर सिक्सको नियम अनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोली नपाइने भएको छ । त्यसैले समूह ‘ए’ बाट तेस्रो स्थानमा रहेर आउने टोलीसँग नेपालले खेल्ने छैन । 

त्यस्तै समूह ‘ए’ को शीर्ष टोलीले समूह ‘डी’ को दोस्रो र तेस्रो नम्बरको टोलीसँग खेल्नुपर्ने हुन्छ । समूह ‘ए’ को दोस्रो स्थानमा हुने टोलीले समूह ‘डी’ को शीर्ष र तेस्रो टोलीसँग सुपर सिक्समा खेल्नेछ । 

तालिका अनुसार नेपालले ३१ जनवरीमा समूह ‘ए’ को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । नेपालले २ फेब्रुअरीमा समूह ‘ए’ को शीर्ष टोलीसँग खेल्नेछ । 

समूह ‘बी’ र ‘सी’ बाट आउने तीन तीन टोलीबीच सुपर सिक्समा पनि यही नियम लागू हुनेछ । दुबै सुपर सिक्सबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा समूह चरणको अङ्क तालिका पनि गणना हुन्छ । 

सेमिफाइनलमा पुग्नका लागि नेपालले सुपर सिक्समा समूह ‘ए’ को शीर्ष र दोस्रो भारत र बंगलादेश दुबै टोलीलाई हराउन आवश्यक छ ।

Share