जुनसुकै विषय पढेकाले पनि नेपाली विषयमा स्नातकोत्तर गर्न पाउने

तस्बिर : द हिमालय टाइम्स

कैलाली । जुनसुकै विषयमा स्नातक तह परा गरेकाले अब त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्न पाउने भएका छन् । त्रिविले आज एक सूचना जारी गर्दै स्नातक तहमा जुनसुकै विषय अध्ययन गरेको भएपनि स्नातकोत्तर नेपालीमा गर्न पाइने जानकारी गराएको हाे । त्रिभुवन विश्वविद्यालय नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिले उक्त निर्णय गरेको जनाएको छ ।

यसअघि यस्तो व्यवस्था नभएपनि यस पटक देखि लागू हुने गरी उक्त नियम लागू गरिने जनाएको छ । त्रिविले आफ्ना मातहतका क्याम्पसलाई सोही अनुसार विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउन समेत अपिल गरेको छ ।

स्नातकोत्तर तहमा नेपाली पढ्न त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको तथा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको विद्यार्थीले नेपालीमा स्नातकोत्तर गर्न पाउने भएका छन् ।

Share