एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्का विरुद्ध दक्षिण अफ्रिकाको चार कीर्तिमान

तस्बिर : बीबीसी/विश्व कीर्तिमान कायम गरेपछि मार्करम

कैलाली । बिहीबार देखि भारतमा एकदिवसीय विश्वकप क्रिकेट २०२३ सुरु भएको छ । जारी विश्वकपमा आज दक्षिण अफ्रिकाले एकसाथ चार विश्व कीर्तिमान कायम गरेको छ ।

भारतको राजधानी दिल्लीमा श्रीलङ्का विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा मात्रै पाँच विकेट गुमाएर चार सय २८ रन बनायो । यो विश्वकप क्रिकेटमा एकै पारीमा बनेको हालसम्मकै ठूलो रनको योगदान हो । यसअघि सन् २०१५ को विश्वकपमा अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध चार सय १७ रन बनाएको थियो । जुन कीर्तिमान आज दक्षिण अफ्रिकाले तोड्दै नयाँ कीर्तिमान आफ्नो नाममा पारेको छ ।

कीर्तिमानी योगफल खडा गर्ने क्रममा अरू तीन रेकर्ड पनि बने । दक्षिण अफ्रिकाका तीन जना ब्याट्सम्यान एडेन मार्करम, रासी भान डेर डसन र ओपनर पूर्वकप्तान क्विन्टन डि ककले शतकीय पारी खेले । डेर डसनले एक सय आठ, मार्करमले एक सय छ र डि ककले एक सय रनको योगदान दिए ।

यसअघि विश्वकपको कुनै पनि एक खेलमा तीन जना ब्याट्सम्यानले शतक प्रहार गरेका थिएनन् । एकदिवसीयमा पनि तीन पटक मात्र यस्तो भएको छ । त्यसमा पनि २०१५ मा वेस्ट इन्डिज र भारतविरुद्ध दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यानले एकै खेलमा शतक बनाएका थिए । यस्तै २०२२ मा नेदरल्याण्ड्सविरुद्ध भएको खेलका क्रममा इङ्ग्ल्याण्डका तीन ब्याट्सम्यानले शतक बनाएका थिए ।

यस्तै दक्षिण अफ्रिकाका एडेन मार्करमले विश्वकपमा सबभन्दा कम बलमा शतक प्रहार गर्दै नौलो इतिहास कायम गरेका छन् । मात्रै ४९ बलको सामना गरेका उनले शतक पुरा गरेका हुन् । उनी एक सय छ रनमा पेभिलियन फर्किएका थिए । जतिबेला दक्षिण अफ्रिकाको आँकडा ३८३/४ थियो । तर डेभिड मिलरले आक्रामक पारी खेल्दै दक्षिणी अफ्रिकाको रन रेटमा पुनः एक इँटा थपिदिए । मिलर ३९ रनमा अविजित रहे भने मार्को जनसन १२ रनमा अविजित रहे ।

यस्तै एकै इनिङमा ५९ बाउन्ड्रीको रेकर्ड पनि बनेको छ । दक्षिण अफ्रिकाका कप्तान मात्रै आठ रनमा पेभिलियन फर्किँदा टोली एक ओभर चार बलमा १०/१ को स्थितिमा थियो तर पछि खेलाडीले संयमता अपनाए र टोलीलाई विश्व कीर्तिमान तर्फ धकेली दिए ।

अहिले श्रीलङ्काले ब्याटिङ ब्याटिङ गरी रहेको छ । उसले ताजा अवस्थामा २० ओभरको खेल सकिँदा चार विकेट गुमाएर एक सय ५० रन जोडेको छ । यस्तै आज नै भएको पहिलो खेलमा बङ्गलादेशले अफगानिस्तानलाई छ विकेटले पाखा लगाउँदै विजयी सुरुवात गरेको छ ।

Share