सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, अन्य चार प्रदेशमा छिटपुट देखि हल्का वर्षा

कैलाली । नेपालबाट यस वर्षको मनसुन बाहिरिने तयारीमा रहेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भूभागबाट मनसुन बाहिरिन थालेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले शनिवार बिहान एक बुलेटिन जारी गर्दै यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भूभागबाट बाहिरिएको जनाएको हो । साथै हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको पनि उक्त बुलेटिनमा भनिएको छ । यस्तै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको पनि बताइएको छ ।

नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

यस्तै शनिवार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।