विश्व क्रिकेटको महाभूकम्पको उद्घाटन आज, २०१९ का फाइनल प्रतिद्वन्दी भिड्दै

कैलाली । आईसीसी विश्व क्रिकेटको महाभूकम्पको उद्घाटन आज भारतमा हुँदै छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रत्येक चार वर्षमा हुने आईसीसीको नियम रहेको छ । १३ औं संस्करणको आईसीसी विश्वकप २०२३ को उद्घाटन खेलमा साविक विजेता इङ्ग्ल्याण्ड र साविक उपविजेता न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा नरेन्द्र मोदी रङ्गशाला अहमदाबादमा सुरु हुँदै छ ।

न्युजिल्यान्डको कप्तानी टम लाथम जनाइएको छ भने । इङ्ग्ल्यान्डको कप्तानी भने नियमित कप्तान जोस बटलरले गर्नेछन् । न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन भने पहिलो खेलमा पूर्णरुपमा फिट छैनन् । त्यसैले लाथमले नेतृत्व सम्हाल्ने जनाइएको छ ।

पहिलो खेलमै उपाधिका प्रमुख दुई हतियार मानिएका टोलीबीच भिडन्त हुनेछ । २०१९ को विश्वकपमा इङ्ल्यान्डले सुपर ओभर पनि टाई भएपछि चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पाखा लगाउँदै उपाधि चुमेको थियो ।

न्युजिल्यान्ड उक्त खेलको बदला आज लिने दाउमा रहेको छ । ०१९ को फाइनलमा न्युजिल्याण्डले दिएको दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दुई सय ४१ रनमा समेटिएको थियो । सुपर ओभरमा १५ रन पनि टाई भएको थियो । तर त्यस बेलाको नियम अनुसार सर्वाधिक बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि जितेको थियो । उक्त विश्वकप खेल्दाका अधिकांश खेलाडी अहिले पनि दुबै टोलीमा छन् । फाइनलमा ८४ रनको यादगार इनिङ खेल्दै बराबरी गराएका बेन स्टोक्स यो पटक पनि इङ्ग्ल्याण्डका मुख्य हतियार मानिएका छन् ।

स्टोक्सले यसै वर्ष सुरुवातमा एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इङ्ल्यान्डले विश्वकप जित्ने लक्ष्यका साथ उनको सन्न्यास फिर्ता गराएको थियो । अघिल्लो महिना स्टोक्सले न्युजिल्यान्डविरुद्ध नै एकदिवसीय खेलमा एक सय २४ बलमा १५ चौका र नौ छक्कासहित एक सय ८२ रनको इनिङ खेलेका थिए । विस्फोटक स्टोक्स न्युजिल्यान्डलाई पुन भारी बन्न सक्छन् ।

कप्तान जोस बटलर फिनिसरको रुपमा खेल्नेछन् । इङ्ग्ल्यान्डको विस्फोटक ब्याटिङ लाइनअप छ । बटलर, जोनी बेयरस्टो, बेन स्टोक्स, लियाम लिभिङस्टोन जस्ता अनुभवी हिटर छन् । इङ्ग्ल्यान्डको ब्याटिङमा गहिराइ छ । मोईन अली, साम करन र क्रिस वोक्स जस्ता म्याच विनर अलराउन्डर छन् ।

ब्याटिङमा एकदिवसीय चर्चित ब्याट्सम्यान जो रुटको विकेट लिन कठिन पर्नेछ । रुट जिम्मेवारीका साथ ठूलो इनिङ खेल्दै हिटरलाई थप खुल्ने वातावरण बनाउन सक्छन् । इङ्ल्यान्डको सोच विस्फोटक ब्याटिङ गर्दै विशाल योगफल बनाउने हुनेछ । तीव्र गतिका बलरमा क्रिस वोक्स, मार्क वुड र साम करन हुनेछन् । स्पिनरमा मोईन अली र आदिल राशिदको जोडी हुनेछ ।

उता न्युजिल्यान्डको ब्याटिङ पनि उत्कृष्ट छ । ओपनर डेभन कन्वे टोलीका प्रमुख ब्याट्सम्यान हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मध्यक्रमका ब्याट्सम्यान डर्याल मिचेलले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका छन् । उनको लय रोक्न इङ्ल्याण्डलाई हम्मेहम्मे हुनेछैन ।

टम लाथम, मार्क च्यापम्यान र ग्लेन फिलिप्सले मध्यक्रममा सम्हाल्नेछन् । पिलिप्स आक्रामक ब्याटिङका लागि चिनिन्छन् । मिचेल सान्टनर, जेम्श निसम र रचिन रविन्द्र अलराउन्डरको रुपमा खेल्नेछन् ।

न्युजिल्यान्डको मुख्य हतियार नै तीव्र गतिको बलिङ आक्रमण हो । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, लोकी फर्गुसन, टीम साउथी र म्याट हेनरीको जोडी इङ्ल्यान्डलाई पुनः निराश बनाउन सक्छन् । स्पिनरमा सान्टनार र रविन्द्र हुनेछन् ।

कस्तो छ यि दुई देश बीच हेड टु हेड नतिजा ?

इंग्ल्यान्ड र न्युजिल्याण्डबीच विश्वकपमा १० खेल भएको छ । दुबै टोलीले समान पाँच खेल जितेका छन् । एकदिवसीयमा भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेलमा विजयी भएको छ ।