कैलाली । अक्टोबर १२ देखि १४ सम्म मलेसियामा हुने एसीसी यू १९ प्रिमियर कप खेल्नका लागि नेपाल क्रिकेट संघ क्यानले बुधबार युवा ब्याट्सम्यान देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
१६ एसोसिएट टोली सहभागी हुने उक्त प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू १९ एसिया कपमा स्थान बनाउने छन् । तर यता नेपाललाई भने उपाधि दाबेदारको प्रमुख टोलीका रूपमा हेरिएको छ ।
नेपालले गत फागुनमा सम्पन्न आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा रहेको १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । उक्त टोलीबाट कुनै पनि खेलाडीलाई क्यानले परिवर्तन गरेको छैन ।
समूह ‘ए’ मा नेपाल सहित बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । त्यस्तै समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स रहँदा समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
यस प्रतियोगितामा नेपाल एक बलियो हिस्सा ओगटेको टोली हो । जुन यू १९ विश्वकपमा छनोट समेत भएको छ । नेपालको टोली :
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा
वैकल्पिक खेलाडी :
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।














