अन्ततः निगमले लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, पुरानै मूल्यमा बिक्री हुने

कैलाली । आज बसेको मन्त्रिपरिषद्को बैठकले आलय निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएसँगै नेपाल आलय निगमले एक विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको जनाएको छ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको निर्देशनपछि निगम सञ्चालक समितिको बैठक बसेर मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको जनाएको छ । निगमले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘ पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज ६ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड बाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको छ ।’

गए राति १२ बजे देखि लागू हुने गरी निगमले इन्डियन आलय कर्पोरेसन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल तथा मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको थियो।

झन्डै डेढ महिना अघि निगमले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएर स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। शनिवार मूल्य बढाउने बित्तिकै सरकारमाथि राजनीतिक दलदेखि जनस्तरको दबाबपछि मूल्य घटाउन उनै प्रचण्डले निर्देशन दिए। यो निर्देशनसँगै निगमको स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने निर्णय फेल भएको छ।

प्रधानमन्त्रीले निर्देशन दिए पश्चात नेपाल आयल निगमले सार्वजनिक गरेको विज्ञप्ति
Share