कैलाली । चीनको हांग्जाउ जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा लगातार दुई खेलमा फराकिलो अन्तरले जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूहको दोस्रो खेलमा नेपालले आइतबार बिहान सम्पन्न खेलमा माल्दिभ्सलाई एक सय ३८ रनको फराकिलो अन्तरले पाखा लगाउँदै जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १२ रनको विशाल आँकडा तयार गर्यो ।
दुई सय १३ रनको विशाल विजयी लक्ष्य लिएर जबाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १९ ओभर चार बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७४ रनमा समेटिन पुग्यो । माल्दिभ्सको पारीलाई धोस्त गर्न नेपालका अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । उनले आफ्नो क्रिकेट करियर किफायती बलिङ गरे । ३.४ ओभर बलिङ गरेका उनले मात्रै ११ रन खर्चिएर छ विकेट हात पारे । योसँगै उनी टी२० छ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र करण केसीले मात्रै टी २० मा एकै खेलमा पाँच विकेट लिएका थिए ।
यस्तै सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।
माल्दिभ्सका लागि मुआवियाथ घानीले सर्वाधिक ३६ रनको पारी खेल्दा रसिद रासम १२ र फरीद शिउस १० रनमा पेभिलियन फर्किए। दुई जनाले तीन रन बनाउँदा बाँकी छ जना ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्किए ।
पहिले ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेल्दा कुशल मल्लले उत्कृष्ट पारी खेल्दै २० बलमा अविजित ४७ रनको पारी खेले । यस्तै गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाए । यस्तै विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले १३ रन बनाए ।
नियमित रूपमा तेस्रो स्थानमा ब्याटिङ गर्न आउने मल्ललाई आज सातौँ स्थानमा पठाइएको थियो । उनी अगाडि आएको खण्डमा नेपालको आँकडा अझै विशाल बन्ने देखिएको थियो । उनले गत बुधबार मङ्गोलियासँग एक सय ३७ रनको अविजित पारी खेलेका थिए । जुन खेलमा उनले ३४ बलमा शतक प्रहार गर्दै टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको अभिलेखमा आफ्नो नाम टिपाउन सफल रहेका थिए । उक्त खेलमा नौ बलमा अर्धशतक प्रहार गर्दै कम बलमा अर्धशतक प्रहार गर्ने रेकर्ड बनाएका दीपेन्द्र सिंह ऐरी आज क्रिजमा जम्न सकेनन् । उनी जम्मा छ रनमा आउट भए ।
नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमान जित हात पारेको थियो।
आजको जितसँगै नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेश रहेका छन्। समूह चरण बाट आउने चार टोलीले यो चार टोलीसँग खेल्नु पर्ने छ ।












