तस्बिर : नेपाल प्रेस , नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड स्ट्राइकर विमल घर्ती मगर
कैलाली । पछिल्लो समय स्वदेशमा भविष्यको टुङ्गो नरहेको भन्दै नेपाली युवा जमात विदेशिने क्रम उच्च बिन्दुमा रहेको छ । अचेल स्कुल कलेजमा विद्यार्थीहरू भेटिँदैनन् । सबै युवा भेटिन्छन् त केवल भाषा कक्षामा । पछिल्लो समय जापानिज, कोरियन भाषा कक्षामा युवा जमातले भरिभराउ हुन्छन् । तर स्कुल कलेज बन्द गर्नु पर्ने अवस्थामा रहेका छन् । देशमा न रोजगारी न भविष्यको ठेगान भन्दै युवा जमात विदेशिन बाध्य छन् । बढ्दो बेरोजगारी र अस्थिर राजनीतिक कारणले युवा देशमा बस्न मान्दैनन् । चाहे त्यो युवा विद्यार्थी भिसामा होस् या कामदारको रूपमा होस् विदेशिन नै चाहन्छ । त्यो कुनै रहर नभई बाध्यता हो ।
कुरा त्यत्ति मात्रै हाेइन खेल जगतमा आफूलाई परिचित गराई सकेका युवा देखि उदयमान खेलाडीहरू राष्ट्रिय टोली छोडेर विदेशिने अवस्था छ । आफूलाई टोलीमा स्थापित गराई सकेका खेलाडीहरू विदेशिनु साँच्चिकै दुःखद कुरा हो । पछिल्लो समय करिब तीन दर्जन भन्दा बढी खेलाडी विदेश भासिएका छन् । यस अवस्थाले नेपाली खेलकुद जगत कहाँ जाने हो ? यसको भविष्य के हुने हो ? यस्तै अवस्था रही रह्यो भने भावी पुस्ताले नेपालमा खेल खेलिन्छ भन्ने थाहा पाउँछन् त? यी र यस्तै कयौं प्रश्नको जवाफ दिनु पर्ने निकायहरू हालसम्म पनि मुख दर्शक नै बनेका छन् । विशेष गरेर नेपाली फुटबल टोलीका सदस्यहरू पलायन हुने अवस्था तीब्र रहेको छ । उसो त सबै विधाका खेलाडीहरू पलायन भइरहेका छन् तर पनि तुलनात्मक रूपमा फुटबलरहरु तीब्र रुपमा पलायन भइरहेका छन्। ।
आज पुनः एक चर्चित राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर अष्ट्रेलिया भासिएका छन् । जो नेपाली टोलीमा निकै चर्चित र जमेका खेलाडी हुन । उनले नेपालमा टोलीमै रहेर मात्रै हैन विदेशी क्लबहरूमा पनि आबद्ध भएर थुप्रै लिगहरू खेली सकेका छन् । तर आज तिनै खेलाडी पलायन हुन बाध्य भए । आम खेलप्रेमीहरू निरास हुँदै उनलाई आगामी दिन सफल रहोस् भन्दै शुभकामना दिँदै सरकार देखि नेपाल फुटबल संघ एन्फालाई गाली गर्दै आफूलाई सम्हाली रहेका छन् ।
खेल खेलेर साँझ बिहान खान पुग्दैन भन्दै बेला बखत नेपाली खेलाडीहरू मिडियामा अन्तर्वार्ता दिँदै गुनासो गरी रहेका हुन्छन् तर पनि सरकार र एन्फा मुख दर्शक बन्दै केही नसुने र नबुझेको जस्तो गर्दै आएका छन् । आज विमल पलायन हुनुले एउटा नेपाली टोलीलाई मात्रै घाटाको कुरा हाेइन सारा नेपाली खेलकुद जगत र नेपाल सरकारलाई समेत नराम्रो झापड लागेको छ । देशमा सरकार छ खेलकुदको रेखदेख गर्ने संस्था छ तर खेलाडी आर्थिक अभावमा पलायन हुँदै छन् ।
नेपाली फुटबलको उधोगतिबाट निरास विमल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातिर भासिएका हुन् । जानुअघि उनले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकलाई जानकारी गराएको जनाइएको छ । आफूलाई राष्ट्रिय टोलीमा समावेश नगर्न आग्रह समेत गरेका बताइएको छ । भविष्यको खोजीमा अस्ट्रेलियामै सेटल हुने गरी गएको पनि बताइएको छ तर साथै नेपाली फुटबलको वातावरण सुधार भए कुनै पनि दिन आफू फर्किन तयार रहेको पनि आफ्ना निकट व्यक्तिसँग बताएका पनि जनाइएको छ ।
वर्षमा चार महिना मात्र लिग हुने र आठ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । पलायन हुनेमा दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरू पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।
पलायन भएका खेलाडीमध्ये विमल सबैभन्दा हाइप्रोफाइल नाम भएका एक व्यक्ति हुन् । उनको अनुपस्थितिले नेपालको टोली सेटमा ठूलै रिक्तता पैदा हुनेछ । विमल नेपाली राष्ट्रिय टोलीका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टोलीबाट डेब्यु गर्ने खेलाडी समेत हुन् । साथै, राष्ट्रिय टोलीबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यु गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले नौ गोल गरेका छन् ।
अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्द गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।
सन् २०१२ को मे मा विमलले एएफसी यू १४ फुटबल फेस्टिबलमा नेपालको अन्डर १४ टोलीबाट खेल्दै आठ गोल गरेका थिए, जसमा उनले श्रीलंका अन्डर १४ विरुद्ध गरेको ह्याट्रिक पनि समावेश थियो । त्यहीँबाट उनलाई राष्ट्रिय फुटबलका भविष्यको रूपमा हेर्न थालियो ।
सन् २०१२ को २० सेप्टेम्बरमा उनले नेपाली राष्ट्रिय टोलीको जर्सीमा डेब्यु गर्दै बङ्गलादेशविरुद्ध खेलेका थिए । सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा प्रतिस्थापन खेलाडीको रुपमा आएर गोल गरेपछि विमलको चर्चा चुलिएको थियो । त्यसपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
विमलले गत भदौ ३ गते आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेका थिए । लिना हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन् ।
कति छ नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको तलब ?
एउटा खेलाडी भइसकेपछि उसले आफैंलाई फिटनेस राख्न देखि सामग्री किन्नसमेत क्षमता राख्नु पर्छ । खानबस्न आफूलाई चाहिने आधारभूत आवश्यकता परिपूर्ति गर्न समेत सक्ने स्थिति खेलाडीको हुनु पर्छ । त्यो सबै व्यवस्था मिलाउनु पर्ने सरकार र एन्फाको दायित्व हो । तर यहाँ खेलाडीलाई अन्य कुरा त परै छोडौँ साँझ बिहान खान समेत मुस्किल पर्छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको २०७७ मंसिर २५ बिहीबार बसेको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीको तलब वृद्धि गर्ने निर्णय गर्यो र १८ हजार पुर्यायो । उक्त तलब हालसम्म पनि कायम छ । जसमा महिला पुरुष दुवै खेलाडीलाई बराबर दिने निर्णय समेत गर्यो । त्यो भन्दा अगाडि खेलाडीले पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले मासिक सात हजारका दरले मात्रै पाउने गरेका थिए ।
अब यसरी हेर्दा अहिलेको समयमा खेलाडीलाई १८ हजारले पुग्छ त? त्यही पनि खेलाडीले नियमित तलब नपाइरहेको बेला बखत गुनासो गर्दै आएका छन् । लिगहरू भयो भने त्यहाँबाट खेलाडीले पाउने हो तर एन्फाले नै पैसा नदिए पछि खेलाडीले त्यहाँबाट पनि पाउने कुरै भएन ।
केही समय अगाडि राष्ट्रिय फुटबल टोलीका सदस्य आशिष चौधरीले एक अन्तर्वार्तामा तलब १८ हजार हो त्यसमा पनि ट्याक्स काटेर १७ हजार सात सय सम्म आउने र त्यही पनि नियमित नभएका कारण सामान्य परिवारको मान्छेलाई खेल खेल्न नै गाह्रो भइरहेको बताएका थिए । अहिले नेपालको फुटबललाई धानेकै क्लबहरूले हो तर एन्फाले पैसा नदिए क्लबले पनि कहाँ बाट दिन्छ भन्दै दुखेसो गरेका थिए ।
राष्ट्रिय फुटबल टोलीका सदस्य आशिष चौधरी खेलाडीको पारिश्रमिकको विषयमा अन्तर्वार्ता दिँदै
यसरी हेर्दा खेलाडीको तलब सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक बराबर नै मात्रै छ । केही समय अगाडि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आव २०८०/०८१ को साउन एक गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो । जसमा चिया बगान बाहेकका श्रमिकको हकमा मासिक आधारभूत १० हजार आठ सय २०, महँगी भत्ता छ हजार सय ८० गरेर जम्मा १७ हजार तीन सय पुर्याएको छ ।
सरकारले श्रमिक वर्गका लागि आर्थिक वर्ष ०८०/८१ का लागि साउन १ देखि लागू हुने गरी बढाएको न्यूनतम पारिश्रमिक
एन्फासँग पैसा छैन ?
नेपाल फुटबल संघ एन्फासँग पैसा नभएको भने हुँदै हैन उसले पैसा पदाधिकारीलाई पालनपोषणमा सक्ने गरेको छ । पदाधिकारीले लाखौं तलब पाउँदा खेलाडीले सुख्खा दाल भात खाने पैसा सम्म पाउँदैनन् । नेपाल फुटबल संघ एन्फाले २०८० बैशाख २५ गते आपतकालीन बैठक बोलायो । त्यो बैठक न फुटबलको उन्नयनका लागि थियो न त खेलाडीको मनोबल बढाउनका लागि नै थियो त्यो त फगत कार्यसमितिको तलब बढाउने मात्रै थियो । त्यही आपतकालीन बैठकले २०२३ का लागि बजेट समेत पारित गर्यो । जसमा ६७ करोड आठ लाख १५ हजार दुई सय २९ रुपैयाँको बजेट परिमार्जनसहित पारित गरेको थियो ।
सोही बैठकले एन्फाका तीन सह महासचिवलाई मासिक ७५ हजार रुपैयाँ तलब दिने निर्णय गर्यो । तर उक्त निर्णयको चौतर्फी विरोध भयो तर पनि कुनै सुनवाई भएन । सुशासन र आर्थिक पारदर्शिताको एजेण्डा बोकेर एन्फामा होमिएका वर्तमान नेतृत्व एकपछि अर्को विवादमा तानिँदै गयो । बैठक नै आह्वान गर्न नसकेर होस् वा पदाधिकारीको चयन वर्तमान नेतृत्व विभिन्न विवादमा फस्ने गरेको छ । विवादका चाङबाट गुजारिरहेको वर्तमान नेतृत्वले सह महासचिवको तलब वृद्धिले बलिरहेको आगोमा घ्यू थप्ने काम गर्यो ।
एन्फा पदाधिकारीको तलब
महासचिव : एक लाख २० हजार
सह महासचिव : ७५ हजार
कोषाध्यक्ष : ९५ हजार
प्रवक्ता : ६२ हजार
सह कोषाध्यक्ष : ३५ हजार
यस्तो अवस्थाले कहिले लाग्ने खेल जगत उँभो गतिमा ? अनि कहिले रोकिने खेलाडी पलायनको मुख्य समस्या ? कहिले पाउने खेलाडीले आफू अनुकूल पारिश्रमिक ?