भुर्तेलको अलराउन्डर प्रदर्शनमा आफ्नो अन्तिम खेलमा नेपाल विजयी

तस्बिर : क्यान

कैलाली । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा युएईको ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै खेलमा सुखद अन्त्य गरेको छ । यस अघि खेलेका दुई खेलमा जित निकाल्न नसकेको नेपालले अन्तिम खेलमा भने सान्त्वना जित हात पारेको हो ।

आजको खेलमा युएईले दिएको एक ५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले बलिङ र ब्याटिङ दुवैमा महत्वपूर्ण योगदान गरेका थिए ।

ब्याटिङ तर्फ उनले ४३ बलको सामना गर्दै नौ चौका र चार छक्काको मद्दतमा ७१ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर अर्जुन साउद भने शून्य रनमा आउट भए । यस्तै देव खनाल र सन्दीप जोराले २४/२४ रन जोडे। गुल्सन झा ११ रनमा पेभिलियन फर्किए ।

बलिङमा युएईका फराजुद्दिनले पाँच विकेट लिए।

त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा एक सय ५७ रनको आँकडा मात्र बनाउन सक्यो । उसका लागि ओपनर लवप्रित सिंहले ५२ रनको अर्धशतकीय पारी खेले पनि अन्यले गतिलो प्रदर्शन गर्न नसक्दा सस्तैमा समेटिन पुग्यो ।

बलिङमा नेपालका ब्याटिङमा उत्कृष्ट पारी खेलेका भुर्तेलले छ विकेट हात पार्न सफल भए। उनले १० ओभरमा ४० रन खर्चिए। यस्तै श्याम ढकालले दुई तथा कुशल मल्ल र पवन सर्राफले समान एक विकेट लिए ।

नेपाल र युएई दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरि सकेका छन । दुवैलाई भारत र पाकिस्तानको ‘ए’ टोलीले पराजित गरेका थिए। समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन्। दुवै टोली समूह विजेताका लागि आज भिडिरहेका छन्।

केही समय देखि लयमा रहेको नेपाली क्रिकेट टोली विश्वकप छनोटबाट भने केही खस्किएको छ । यस प्रतियोगितामा भारत र पाकिस्तानको ए टोलीसँग पनि पराजय भोगे पछि नेपालको खेल खस्किएको धेरैले अनुमान गरेका छन् । अन्य देशले आफ्नो देशको ए टोली पठाउँदा नेपालको भने राष्ट्रिय टोली नै यस प्रतियोगितामा सहभागी भएको थियो तर अपेक्षाकृत प्रदर्शन भने गर्न सकेन । जसले गर्दा अब हुने एसिया कपमा भारत र पाकिस्तानको राष्ट्रिय टोलीसँग खेल्न झनै चुनौती हुने छ ।

एसिया कप पनि श्रीलंका मा नै हुने भएकाले नेपालका खेलाडीलाई त्यहाँको क्रिजमा खेल्ने र त्यसलाई नियाल्न यो राम्रो अवसर पनि जुरेको थियो तर त्यसको भरतपुर फाइदा भने नेपालले लिन सकेन ।