कैलाली । बिहीबार देखि श्रीलंकामा सुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफूले खेलेको पहिलो खेलमा नै नेपालले पराजय भोगेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग चार विकेटले पराजित हुन पुग्यो ।
नेपालले दिएको एक सय ८० रनको लक्ष्य सामान्य लक्ष्य पाकिस्तान ए ले ३२ ओभर पाँच बलमा छ विकेट गुमाएर पुरा गर्यो। उसका लागि मोहमद ताहिरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै ओमर बिन युसुफले ३६ तथा कमरन गुलामले ३० रन बनाए।
बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट हात पार्दा पवन सर्राफले दुई विकेट हात पारे।
त्यसअघि श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा मात्र एक सय ७९ रनमा समेटिन पुग्यो ।
नेपालका लागि तीब्र गतिका बलर सोमपाल कामीले ७५ रनको अर्धशतकीय पारी खेले । एक सय एक बलको सामना गरेका कामीले नौ चौका र दुई छक्का प्रहार गरे ।
उनी मैदान छिर्दा नेपालले सात विकेट गुमाउँदा जम्मा ६७ रन मात्र जोडेको थियो। उनले नबौं र दसौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दा नेपालको रन गति केही बढेको थियो ।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन सुरु गरी सकेको थियो । दोस्रो ओभरमा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल एक रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।
यस्तै कप्तान रोहितकुमार पौडेल चार रन र भीम सार्की शून्यमा पभिलियन फर्किए ।दुवैलाई मोहमद वासिमले आउट गरे।
अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भए लगत्तै पवन सर्राफ पनि एक रनमै आउट भए।
नेपालले नौं ओभर एक बलमा छ विकेट गुमाएर जम्मा ३९ रन मात्र जोड्न सकेको थियो । कुशल मल्लले १७ रन र गुल्सन झाले १३ रन जोडे। १८ बलमा दुई चौका र एक छक्का हिर्काएका कुशल तथा गुलसन दुवैलाई मोहमद वासिमले नै पेभिलियनको बाटो देखाए। कुशल बोल्ड हुँदा गुलसन क्याच भए।
प्रतिश जिसीले २४ बलमा २६ रन जोडे। एक चौका र दुई छक्का हिर्काएका प्रतिशले नबौं विकेटका लागि कामीसँग ७० बलमा ५८ रनको साझेदारी गरे। यही साझेदारीका कारण नेपालको रन बढेको थियो। यस्तै सोमपालले दसौं विकेटका लागि ललित राजवंशीसँग ४९ रनको साझेदारी गरे।
बलिङमा पाकिस्तानका दहानीले पाँच विकेट लिए भने वासिमले चार विकेट हात पारे। नेपाली टोली केही समय अगाडि निकै लयमा रहेको भए पनि विश्वकप क्वालिफायरबाट पुनः आफ्नै लयमा फर्कियो । फेरि पनि त्यहीँबाट नेपाली ब्याट्सम्यानहरू विदेशी भूमिमा टिकेर खेल्न सक्दैनन् भन्ने कुरालाई प्रमाणित गरे।
आजको खेलमा पनि श्रीलंकन भूमिमा क्रिजमा खेलाडी टिकेर खेल्न सकेनन् । कामीले आफ्नो अनुभवको भरतपुर सदुपयोग गर्दै टोलीलाई अगाडि बढाए पनि आशा गरिएका युवा खेलाडीमा अनुभवको कमी नै देखियो ।
युवा खेलाडीले परिपूर्ण आश लाग्दो नेपाली टोली पुनः पुरानै गतिमा फर्किन लागेको छ । प्रशिक्षक मोन्टी देसाइको प्रवेशले नयाँ उचाइ लिएको नेपाली क्रिकेटले त्यो कायम राख्न सकेको छैन ।
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल बाहेक अरु देशका सिनियर टोलीले प्रतियोगितामा भाग लिएका छैनन्। नेपाल बाहेकका टोलीले युवा खेलाडी समेट्दै ‘ए’ टोली बनाएर प्रतियोगितामा सहभागी भएका छन्। उसो त नेपालले पनि सबै खेलाडीलाई समेटेर आफ्नो टोली पठाएको छैन । युवा खेलाडीलाई मौका दिँदै अनुभवी खेलाडीलाई विश्राम दिएको छ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसियाका एसोसिएट टोलीलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले भने यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ।
अब नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टोलीसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई












