प्रचण्डको दुःखद वियोगान्त, नर्भिक अस्पतालबाट निकालिएका ती दुई शव

कैलाली । नेपाली राजनीतिमा एक चतुर खेलाडी भनेर चिनिने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्ध प्रक्रियाबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा आफ्नै जन्म दिने पिता र जीवन सङ्गिनी सहित परिवारका चार जना सदस्य गुमाइ सकेका छन् । एक पछि अर्को गर्दै राजनीतिमा अनेकन फड्को मारी रहेका प्रचण्डलाई परिवारमा भने जहिले पनि दुःख माथि दुःख आई लाग्यो ।

२०७४ सालको निर्वाचनमा एकमात्र पुत्र प्रकाश दाहाललाई गुमाएका उनले पुनः आज छ वर्ष पछि धर्मपत्नी सीता दाहाललाई गुमाएका छन् । २०७४ मंसिर ३ गते छोरा गुमाएका प्रचण्ड सोही मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार रहेका थिए । छोराको मृत्युको वियोगान्त दुःख बोकेर निर्वाचनमा उनलाई छोराको असामयिक निधनले निकै ठूलो आघात पुग्यो । त्यस्तै परिस्थिति आज अर्थात् २०८० असार २७ गते दोहोरियो । सो समयमा निर्वाचनमा होमिएका बेला घटेको घटना यस पटक देशको नेतृत्व सम्हाली रहेका बेला उनी माथि बज्रपात पर्यो । आज उनले श्रीमती गुमाउनुको पीडा झेली रहेका छन् ।

उसो त सीता दाहाल एउटा प्रचण्ड पत्नी मात्रै हैनन्, उनी एक जनयुद्धमा होमिएको नारी समेत हुन् । माओवादी केन्द्रकी सल्लाहकार समेत हुन् । उनको वीरता, साहस अनि समर्पणका कथा र कहानीहरू भने विभिन्न किताबमा लिपिबद्ध भइसकेका छन् । त्यो हामीले मेटाएर मेटिने वाला पनि छैन । उनको वीरताको कदर सधैँ भरी भै नै रहने छ ।

माध्यमिक विद्यालयका शिक्षक प्रचण्डलाई देशको प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत साथ र हात दिने अथक पथिक थिइन् भन्ने कुरा पनि दस्तावेजीकरण भइसकेका छन् । लामो समयको सहयात्रामा सँगै यात्रा गरेका प्रचण्डलाई अब सीताको भौतिक साथ रहने छैन । जेठी छोरी र छोरो गुमाएको चोट बोकेर हिँडिरहेका प्रचण्डले अन्ततः पत्नी शोकको बज्रपात पनि झेल्नु परेको छ । युद्धबाट शान्ति प्रक्रियामा आएको यो १६ वर्षको अवधिमा उनले जन्मदिने बुबासहित परिवारका चार सदस्य गुमाई सकेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीताको निधन ६९ वर्षको उमेरमा बुधबार नर्भिक अस्पतालमा भयो । अस्पतालका अनुसार बिहान ८ बजे आकस्मिक रुपमा ल्याइँदा लगभग सीताको अन्तिम सास मात्रै बाँकी थियो । सुखमा होस् या दुःखमा कहिले कँही संयोग पनि यस्तो भै दिन्छ जुन कल्पना पनि नगरेको त्यस्तै भयो प्रचण्डको जीवनमा पनि आज । उनको जीवनका दुई अभिन्न अङ्गको अन्त्य नर्भिक अस्पतालमै भयो । ६ वर्षअघि एकमात्र छोरा प्रकाश दाहालको शव नर्भिक अस्पतालबाटै यसै गरी निकालिएको थियो । सोही अवस्था आज दोहोरियो । छ वर्ष अगाडि छोराको शव र आज जीवनसंगिनीको शव निकाल्दा त्यो पीडा उनले मात्रै बोकेका छन् ।

प्रकाशको निधनको पुष्टि अस्पतालले गरेको समय र सीताको निधनको पुष्टिको समयमा पनि कुनै फरक नभए उस्तै उस्तै रह्यो । पुत्र वियोगपछि विक्षिप्त बनेकी सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकिनन् र अन्तिममा आज छोराको शव निस्किएकै अस्पतालमा उनले देहत्याग गरिन् र छोराको जसरी नै आज उनको शव पनि निकालियो ।

हरेक जन्म दिने आमाको लागि एउटा पुत्र प्रेम कस्तो हुन्छ ? त्यो भने भनिरहन पर्दैन । सीताको जीवनमा प्रकाशको अर्थ अझ बढी थियो । त्यही भएर होला उनको निधन पछि उनी कहिल्यै पनि पूर्ण रूपले निको भइनन् । छोराको खुसीका लागि उनले कतिपय अवस्थामा पार्टी र परिवारभन्दा माथि उठेर छोराको बचाउ समेत गर्ने गरेको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत जीवनमा पारिवारिक वियोगको यो तेस्रो बज्रपात हो । १० वर्षअघि अर्थात् २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो । १० वर्षको अन्तरालमा आफ्नो जीवनका तीन प्रिय मान्छेलाई गुमाउनुको पीडा अहिले प्रचण्डको अनुहारमा छचल्किएको छ । पुत्र वियोगपछि कहिल्यै फर्ममा आउन नसकेकी सीताको उपचारका लागि प्रचण्डले भए जति कुनै उपाय बाँकी राखेनन् । देश विदेशका सबै खाले उपचार पद्धतिको प्रयोग गरे । तर, पनि सीता पछिल्ला केही वर्ष ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त स्वास छ’ को अवस्थामा थिइन् । तर पनि त्यो उनको आफ्नो मन् शान्ति गर्नु बाहेक अरु केही भएन । यति हुँदा हुँदै पनि प्रचण्डले सबै खाले पीडा र वेदनालाई लुकाएर आफ्नो गतिशील राजनीतिक जीवनलाई प्रभाव पर्न भने दिएनन् ।

कुनै पनि बाबुका लागि सन्तान वियोगजस्तो पीडा सम्भवतः केही हुन्न होला सायद। बाल्यकाल र किशोरावस्था भूमिगत ढंगले यता उता गर्दै बिताएका प्राणभन्दा प्यारा सन्तानले सुखसयलको लामो अनुभव लिन नपाउँदै संसार छाड्नु परेको पीडा सायद यो परिवारले पनि महसुस गरेकै छ । पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने मुख्य पात्र थिइन् सीता । जनयुद्धमा प्रचण्ड सुप्रिम कमान्डर थिए तर सीता दाहाल सुप्रिमोको पनि कमान्डर थिइन् भन्छन् जनयुद्धकालीन सहयोद्धाहरू ।

हरेक पतिको सफलताको पछि पत्नीको हात हुन्छ भन्ने पुरानो मान्यतालाई मान्ने हो भने प्रचण्ड बन्नुमा सीताको हात महत्वपूर्ण छ । सीता पछिल्लो समय अचेत अवस्थामा निकै कष्टकर जीवन व्यतीत गरिरहेकी थिइन् । तर पनि प्रचण्डले राजनीतिलाई भने निरन्तर अघि बढाई रहेका थिए ।

प्रचण्ड परिवार आजबाट आधा भएको छ । किनकी अब सीतासँग छोरा प्रकाश र छोरी ज्ञानु भएका छन् भने प्रचण्डसँग रेणु र गङ्गा मात्र बाँकी रहेका छन् । यो चानचुने कठोर र पीडादायी क्षण हुँदै होइन । सीताले कष्टकर जीवनबाट मुक्ति पाइन् ।

आफ्नो जीवनको उत्तरार्धमा आएर देशको नेतृत्व सम्हाली रहेका प्रचण्डलाई सत्ता जोगाएर काम गर्नु एउटा ठूलो चुनौती त छ नै अर्को तिर परिवारमा घटेको घटनाले झन पीडा थपी दिएको छ । ‘सबै सकियो अब मसँग के नै बाँकी छ र ?

भ्रष्टाचारका सबै फाइल खोल्दै सबलाई जेल कोचेर जनतालाई देखाउन बाहेक अरु मलाई कुनै केही गर्नु छैन यस पटक जनताको लागि जसरी पनि कार्य गर्छु ‘ भन्दै आएका प्रचण्डसँग साँच्चै अब अरूले भने जस्तो केही रहेन । हाम्रो समाजले कुल जोगाउन छोरा चाहिन्छ भने झै उनले सबै गुमाई सके अब बाँकी रहेका दुई सन्तान रेणु र गङ्गाले प्रचण्डलाई देशको लागि अझै केही उनको हुटहुटी र दृढताको यात्रामा दरिलो साथ दिने छिन । गङ्गा त उनकी स्वकीय सचिव समेत हुन् ।

परिवारको वियोगान्त रुमलिएका प्रचण्डले जीवनको उत्तरार्धमा आएर गरेका केही सराहनीय कार्यमा सबैले पार्टी नेता कार्यकर्ताले एक पटक प्रचण्डलाई नभएर देशका लागि भए पनि साथ दिनु पर्ने अपरिहार्य छ ।

Share