दीपेन्द्रको उत्कृष्ट पारीमा नेपालको कठिन जित, श्रीलंका विश्वकपमा छनोट

कैलाली । नेपालले विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा युएई विरुद्ध सङ्घर्षपूर्ण जित निकालेको छ । नेपालले अब सातौँ स्थानका लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

आइतबार जिम्बाबेको हरारेमा यूएईले दिएको एक सय ८२ रनको झिनो लक्ष्य नेपालले ४३ ओभर दुई बलमा सात विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ७९ रनको अर्धशतकीय पारी खेले । यस्तै ओपनर कुशल भुर्तेलले ३५ रन जोड्दा सन्दीप लामिछाने २३ रनमा अविजित रहँदा बाँकी ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ४६ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक ८१ रन मात्र जोड्न सक्यो । यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए ।

उसको पारीलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र करण केसीले समान तीन विकेट लिए । प्रतिस जिसी, गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । सन्दीपले १० ओभरमा केवल २३ रन मात्र खर्चिए । उनले तीन ओभर मेडन राखेका थिए ।

यो सँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई लगातार पाचौँ पटक पाखा लगाएको छ ।

श्रीलंका विश्वकपमा छनोट

यता आज नै भएको अर्को खेलमा श्रीलंका विजयी हुँदै विश्वकपमा छनोट भएको छ । आज उसले घरेलु टोली जिम्बाबेलाई नौ विकेटले पाखा लगाउँदै एकदिवसीय विश्वकपमा पुग्न सफल भएको छ ।

विश्वस्तरको छनोट अन्तर्गत सुपर सिक्समा लगातार चौथो जित हात पार्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको हो ।

१० टोली सहभागी विश्वकप छनोटबाट दुई टोली मात्र विश्वकपमा पुग्ने छन् । श्रीलङ्काले विश्वकपमा स्थान बनाए सँगै अब बाँकी एक टोलीको टुंगो लाग्न बाँकी छ । सुपर सिक्समा श्रीलंकाको चार खेलबाट आठ अङ्क रहेको छ । चार खेलबाट छ अङ्क भएको जिम्बावे दोस्रो स्थानमा छ । तीन तीन खेल खेलेका स्कटल्याण्डको चार नेदरल्याण्ड्सको दुई अङ्क रहेको छ ।

वेस्ट इन्डिज र ओमानले भने खाता नै खोल्न सकेका छैनन् । अन्तिम खेलमा जिम्बावेले स्कटल्यान्डसँग खेल्नेछ । जिम्बाबेको उक्त खेल जिते विश्वकपमा छनोट हुने छ । तर बाँकी दुवै खेल स्कटल्याण्डले जिते उ विश्वकपमा पुग्ने छ । यस्तै नेदरल्याण्ड्स र स्कटल्यान्डबीच पनि प्रतिस्पर्धा हुन बाँकी छ ।

श्रीलंका भने जारी प्रतियोगितामा एक मात्र अपराजित टोली हो ।

आजको खेलमा पहिला ब्याटिङ गरेको जिम्बावे एक सय ६५ रनमै समेटिएको थियो । तर श्रीलंकाले उक्त लक्ष्य ३३ ओभर एक बलमा मात्र एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।

Share