अछाम । हरेक वर्ष असार १० भित्र सबै पालिकाहरूले आउँदो वर्षको बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक व्यवस्था भए अनुसार सबै जसो पालिकाहरूले हिजो आइतबार बजेट ल्याएका छन् । केहीले यस अघि नै ल्याइ सकेका थिए । यस्तैमा अछामको ढकारी गाउँपालिकाले पनि आइतबार नै बजेट ल्याएको छ ।
गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि ४० करोड ८१ लाख ३८ हजार तीन सय रुपैयाँ बराबरको अनुमानित बजेट गाउपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीले गाउँ सभामा विनियोजित गरेकी हुन् ।
अनुमानित कुल बजेट मध्ये चालु तर्फ ३४ करोड १३ लाख ६९ हजार अर्थात ८३.६४ प्रतिशत र पुँजीगत तर्फ छ करोड ६७ लाख ६९ हजार तीन सय अर्थात १६.३६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा विनियोजित बजेटमा राजस्व बाँडफाँडबाट संघीय सरकारबाट प्राप्त हुने नौ करोड ६९ लाख ७३ हजार तीन सय, राजस्व बाँडफाँड प्रदेश सरकारबाट २० लाख दुई हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट प्राप्त नौ करोड ४८ लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट प्राप्त ६६ लाख ६३ हजार, संघीय सरकार समपूरक अनुदानबाट प्राप्त ६० लाख, प्रदेश सरकारबाट समपूरक अनुदानबाट प्राप्त ४० लाख १९ अनुमान गर्दै बजेट विनियोजन गरिएको छ ।
यस्तै संघीय सरकार विशेष अनुदानबाट ५० लाख, संघीय सरकार सशर्त अनुदानबाट १८ करोड ३६ लाख, प्रदेश सरकारबाट सशर्त अनुदानबाट ५१ लाख र आन्तरिक आम्दानीको अनुमानित प्रक्षेपण ३० लाख अनुमान गर्दै बजेट विनियोजन गरिएको छ ।
बजेट बक्तब्यपालिकाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी जस्ता विषयलाई बजेटमा प्राथमिकता दिएको पाइएको छ ।













