कैलाली । कैलालीकाे गौरीगङ्गा नगरपालिका १ मा आफ्नै बुहारी कविता बूढाको हत्या गरि सामुदायिक वन भित्र खाडलमा गाड्ने सासुससुरा पक्राउ परेका छन् । मृतक कविताकी सासु लहरी बूढा र हत्या गरि फरार भएका ससुरा डिल्ली सिंह बूढा तथा घटनामा संलग्नलाई बचाउ गर्न खोज्ने ४१ वर्षीया जयबिर बूढा कैलाली जिल्ला प्रहरीकाे हिरासतमा रहेका छन् ।
गौरीगङ्गा नगरपालिका एक गोप्कामा जेठ १८ गते राती करिब नौ बजे आफ्नै घरको भान्सा घरमा खाना पकाई रहेकी २७ बर्षिया कवितालाई पछाडिबाट दाउराको चिरपटले हानी उनका ५२ वर्षीया ससुरा डिल्ली सिंहले हत्या गरेका थिए । हत्या पछि सासु, ससुरा दुवै जना मिलेर डोकोमा लास राखी घरभन्दा करिब तीन किलोमिटर टाढा रहेको केदारेश्वर सामुदायिक वनमा खाल्डो खनी लासलाई गाडेका थिए । साथै लाससँगै मृतकका रगत लागेका कपडा, फरुवा, डोको पनि सोही खाल्डोमै पुरी दिएको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ ।
हत्या पछि ससुरा डिल्ली सिंहले घटना ढाकछोप गर्न आफैले बुहारी कविता बूढा हराई भनी जिल्ला प्रहरी कार्यालयमा जेठ १९ गते निवेदन दिएका थिए । निवेदन पेश गरेपश्चात् उनी आठ बर्षिया नाति डण्डीराज बूढालाई लिएर सम्पर्क विहीन भएका थिए । उनी सम्पर्क विहीनपश्चात् १९ गते देखि २२ गतेसम्म कञ्चनपुर जिल्लाको बिचफाँटा आफन्तको घरमा बसेका प्रहरीले जनाएको छ ।
जेठ २२ गते सम्म पनि ससुरा डिल्ली सिंह र कविता बूढा सम्पर्कमा नआउँदा कविताका भाइ पराने बूढाले प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा कविता हत्या गरी सामुदायिक वन भित्र आठ फिट चार इन्च गहिराइ भएको सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सासु, ससुरा मिलेर हत्या गरेको खुलेको थियो । तत्पश्चात् मृतकका दाजु राम बहादुर बूढाले २३ गते किटानी जाहेरी दरखास्त पेश गरेसँगै प्रहरीले लहरी बूढालाई पक्राउ गरी जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य अगाडि बढाएको थियो ।
लहरीलाई पक्राउ गरेपछि डिल्ली सिंहको खोजतलासी गरेको थियो । उक्त क्रममा उनको अन्तिम ‘लोकेसन’ २२ गते अपरान्ह चार बजे कञ्चनपुर जिल्लाको परासनमा देखिए पछि तत्काल त्यस तर्फ प्रहरी टोली परिचालन हुँदा प्रहरीको सम्पर्कमा आएका डिल्ली सिंहलाई भगाई २२ गते सम्म कञ्चनपुरकै बिचफाँटामा लुकाई छिपाई राख्न सहयोग गर्ने ४१ वर्षीया जयबिर बूढालाई २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाका मुख्य अभियुक्त डिल्ली सिंह कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ३ मा रहेको नेपाल भारत सीमावर्ती इलाकामा लुकिछिपी बसेको भन्ने सूचना प्राप्त पछि त्यसतर्फ प्रहरी टोली खटिएको र अन्ततः उनी जेठ २७ गते प्रहरीको फन्दामा परेका थिए । पक्राउ गरी दाखिला गरेको ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मृतक कविता बूढाका श्रीमान अर्जुन बूढा कान्छी श्रीमती साथमा लिई विगत एक वर्ष देखि भारतको बेङ्लोरमा बस्दै आएका छन् । घरमा रहेकी बुहारीसँग सासु लहरी र ससुरा डिल्ली सिंहको सधैँ झैँझगडा हुने गरेको थियो । घटना हुनु पूर्व पनि घरायसी झगडाका विषयमा प्रहरी कार्यालयमा गई मेलमिलाप गर्ने गरेका थिए । घटना भएको दिन साँझ डिल्ली सिंह घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहुँ खोजी विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी बुहारी कवितालाई पछाडिबाट टाउकोमा दाउराको चिरपटले हिर्काई हत्या गरेका थिए । त्यसपछि दुवै जना मिली लासलाई सामुदायिक वनमा खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।













