‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइजलाई, खेलेको पहिलो सिजनमै च्याम्पियन

तस्बिर : एन्फा

कैलाली । काठमाडौंको दशरथ रङ्गशालामा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेडले उचालेको छ । उपाधि उचाल्ने क्रममा ब्वाइजले मंगलबार थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै अङ्क तालिकाले अघि रहँदै च्याम्पियन बनेको हो । 

अन्तिम खेलअघि उपाधि जित्न एक अङ्क मात्र चाहिएको चर्चलाई मंगलबार बराबरीले च्याम्पियन बन्न मद्दत ग¥यो । उसले यस सिजनबाट नै ए डिभिजन लिगमा डेब्यु गरेको थियो । चर्चको एक खेल खेल्न बाँकी रहँदा २५ खेलमा ४५ अङ्क रहेको छ । 

यस्तै दोस्रो स्थानमा रहेको साविक विजेता मछिन्द्रको दुई खेल बाँकी रहँदा ३९ अङ्क रहेको छ । अब अन्तिम खेलमा चर्च ब्वाइज पराजित भएको अवस्थामा मछिन्द्रले बाँकी दुवै खेल जितेमा शीर्ष स्थानको चर्च ब्वाइजसँग अङ्क बराबरी गर्नेछ । तर मछिन्द्र चर्च ब्वाइजसँग हेड टु हेडमा पछि छ । चर्च ब्वाइजले मछिन्द्रविरुद्ध पहिलो खेल बराबरी खेल्दा दोस्रो खेलमा जित निकालेको थियो । 

यता चर्च ब्वाइजसँग बराबरी खेलेसँगै २९ अङ्क सहित पुछारबाट तेस्रो स्थानमा रहेको थ्री स्टारलाई भने रेलिगेसनबाट बच्न नै सकस भएको छ । अब थ्री स्टारलाई रेलिगेसनबाट बच्न आफ्नो अन्तिम खेल जितेर मात्र पुग्ने छैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

‘सी’ डिभिजनमा छनोट भएको चार वर्षमै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज

चर्च ब्वाइज २०७८ को चैतमा ‘बी’ डिभिजन च्याम्पियन हुँदै ए डिभिजनमा बढुवा भएको टोली हो । उसले २०६० साल बाट फुटबल खेल्न सुरु गरेको थियो । उसले पूर्वका विभिन्न प्रतियोगितामा समेत सहभागिता जनाएको थियो ।

२०६६ सालमा भने क्लबलाई औपचारिक रूपमा दर्ता गरिएको थियो । सुरुमा मोरङ उर्लाबारीको क्लबको रूपमा चिनिएको चर्च ब्वाइजको दर्ता भने ललितपुर जिल्ला खेलकुद विकास समितिमा भएको हो । जसको कार्यालय पनि ललितपुरकै बालकुमारीमा राखिएको छ ।

औपचारिक रूपमा क्लब दर्ता गरेपछि चर्च ब्वाइजले ‘सी’ डिभिजन छनोट खेल्न थालेको थियो । सुरुमा ‘सी’ डिभिजनको छनोटमा १० वर्षसम्म चर्च ब्वाइज असफल रह्यो । २०७६ मा ‘सी’ डिभिजनको छनोटमा पर्दै सी डिभिजन क्लब बन्न सफल भयो । त्यसपछि २०७७ मा चर्च ब्वाइज सी डिभिजन च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा पुग्यो ।

२०७८ मा बी डिभिजन च्याम्पियन बनेपछि चर्च ब्वाइजले २०७९/८० को ‘ए’ डिभिजन लिग खेलेको डेब्यु सिजनमै उपाधि हात पार्न सफल रह्यो ।

Share