एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको ६७ वर्षको उमेरमा आज निधन भएको छ । आज बिहान आबेलाई गोली प्रहार भएको थियो । गोली लागि गम्भीर घाइते भएका आबेको निधन भएको जापानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापानको नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण गरिरहेका बेला पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको जनाइएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका बताइएको थिए ।
आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ समेत गरिसकेको जनाएको छ । जापानी पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएपछि विश्वभरबाट नेताहरूले घटनाको निन्दा गर्दै स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
६७ वर्षका सिन्जो आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुन् । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नौ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नु भएको थियो ।
सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि आबेले पद छाडेका थिए ।













