अभ्यास खेलमा नेपालसँग क्यानडाको ओन्टारियो क्लब ६९ रनले पराजित

 एजेन्सी । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले गए राती सम्पन्न पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । उसका लागि रियाज खान पठानले सर्वाधिक ३६ रन जोडनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ नेपालका पवन सरार्फले सर्वाधिक ३ विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐरीले, आरिफ शेख र किशोर महतोले समान २ विकेट लिए । 

यसअघि किङ्ग सिटीमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाउन सक्यो । नेपालका लागि विकेट किपर विनोद भण्डारीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले ४२ रन र बसिर अहमदले २४ रन जोडे । ओन्टारियोका लागि बलिङ तर्फ शील पटेलले सर्वाधिक ३ विकेट लिए ।

नेपाल र क्यानडाबीच अर्को खेल एक दिवसीय शृङ्खला असार २० र २१ गते हुनेछ । क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय शृङ्खला हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।
अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीका साथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *