सुखड । इलाका प्रहरी कार्यालय सुखडले लागूपदार्थ दुव्यर्सन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा आज कार्यक्रम सञ्चालन गरिएको हो । घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्रका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी उपरीक्षक प्रसन्न राज चौधरीले उपस्थित विद्यार्थीलाई लागूपदार्थ दुर्व्यसनबाट जोगिने उपाय सुझाएका थिए । साथै उनले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराइ सडक दुर्घटना बाट बच्न ट्राफिक नियमको पालना गर्नु पर्ने समेत बताएका थिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीले लागूपदार्थ दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका छन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी उपरीक्षक प्रसन्न राज चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी सामुदायिक माविका शिक्षक र विद्यार्थी गरी २५० जनाको उपस्थिति रहेको थियो ।













