कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी अशोक थापालाई अवकाश दिइएको छ । सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी अपमानजनक टिप्पणी गरेको आरोपमा कार्यालय सहयोगी थापालाई सेवाबाट बर्खास्त गरिएको हो ।
गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) लाई लक्षित गरी अत्यन्तै अपमानजनक शैलीमा तुच्छतम् शब्दहरु प्रयोग गरेर मानमर्दन गर्ने उद्देश्यले टिप्पणी गरेको भन्दै कार्यालय सहयोगी थापालाई जागिरबाटै हटाइएको प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालले जानकारी दिए ।
थापाले वैशाख २४ गते गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध अपमानजनक टिप्पणी लेखेकाले लिखित स्पष्टीकरण सोध्दासमेत जवाफ नदिएपछि जेठ ४ गतेको निर्णयअनुसार थापालाई सेवाबाट अवकाश दिएको उनले बताए । थापाले सामाजिक सञ्जालमा के लेखेका थिए भन्नेबारे सूचनामा केही उल्लेख छैन । कार्यालय सहयोगी थापा गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँदको सचिवालय सहयोगीका रुपमा कार्यरत थिए ।












