डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बडीकेदार गाउँपालिका वडा नं १ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टीको वडा समितिलाई पूर्णता दिएको छ ।
वडा अधिवेशनले गणेश बहादुर बोहरालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो । यस्तै उपसभापतिमा हरिभान बोहरा, सचिवमा नेत्र भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लाल बहादुर बोहरा, धन बहादुर बुडामगर, टोप बहादुर बोहरा, गोपाल बहादुर मौनी, रिमा बोहरा र प्रदिप बोहरालाई चयन गरेको छ ।
स्थानीय स्तरमा पार्टी संगठन विस्तार गर्ने उद्देश्यले गरिएको अधिवेशनमा प्रदेश उपसभापति नरेन्द्र खड्का, जिल्ला सभापति केशव बलायर, पालिका सभापति विशाल ताडीलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नयाँ नेतृत्वले गाउँस्तरमा नागरिकका आवाज उठाउने, विकासका मुद्दा पहिल्याउने र स्थानीय तहमा उत्तरदायी नेतृत्व दिने लक्ष्य लिएको बताइएको छ ।
अधिवेशन पश्चात पालिका सभापति ताडीले समाज सेवा गर्ने तथा समाजलाई सही दिशा र मार्ग दर्शन गर्ने युवा नेतृत्वको आवश्यकता अपरिहार्य रहेको बताए । साथै आफ्नो देशमा केही गर्नुपर्छ भन्ने सोच भएका व्यक्तिले नेतृत्व गर्दा समाजमा नौलो सन्देश जानुका साथै स्वयम् नेतृत्व गर्ने व्यक्तिले स्वदेशमै केही गर्दा समाजमा रहेका अन्य व्यक्तिले पनि सोही अनुसरण गर्ने उनको विश्वास छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्देशन अनुसार मंसिर महिनाभित्र जिल्लाका सबै वडाहरुमा अधिवेशन गरि सक्नु पर्नेछ । सोही अनुसार रास्वपा बडीकेदार पनि अधिवेशनमा अग्रसर हुँदै वडा नं १ मा सम्पन्न गर्दै वडा अधिवेशनको शुभारम्भ गरेको छ ।












