डु प्लेसिसपछि रजत पाटीदार बने रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले मार्च २१ देखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को लागि रजत पाटीदारलाई आफ्नो नयाँ कप्तान नियुक्त गरेको छ ।

२०२२ देखि २०२४ सम्म टोलीको कप्तानी गरेका फाफ डु प्लेसिसलाई टोलीमा अनुबन्ध नगरेको आरसीबीले आम समर्थकले अब फेरि एक पटक विराट कोहलीले टोलीको नेतृत्व गर्ने अपेक्षा गरेका थिए । तर, बिहीबार बेंगलुरुमा आयोजित एक कार्यक्रममा आरसीबीले यस्तो घोषणा गरिएको हो ।

२०२१ मा फ्रेन्चाइजीमा सामेल भएदेखि पाटीदारले तीन सिजन खेलेका छन् र २८ खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७ सय ९९ रन बनाएका छन् । उनी टोलीका प्रमुख ब्याट्सम्यानहरू मध्येका एक हुन् ।

नोभेम्बरमा भएको मेगा लिलामी अघि आरसीबीले रिटेन गरेका तीन खेलाडीमध्ये ३१ वर्षीय पाटीदार एक थिए । यो उनको आईपीएलमा पहिलो कप्तानी कार्यकाल भए पनि उनले २०२४/२५ को सैयद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीको सिजनमा आफ्नो राज्य टोली मध्य प्रदेशको कप्तानी गरेका थिए ।

घरेलु क्रिकेटमा कप्तानको रूपमा यो प्रतियोगिता उनको पहिलो पूर्ण कार्यकाल थियो ।

उनी सैयद मुश्ताक अली ट्रफीमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी थिए, जहाँ उनले नौ इनिङमा ६१.१४ को औसत र १८६.०८ को स्ट्राइक रेटमा ४ सय २८ रन बनाएका थिए । विजय हजारे ट्रफीमा उनले ५६.५० को औसत र १०७.१० को स्ट्राइक रेटमा २ सय २६ रन बनाएका छन् ।

तीन पटक फाइनल खेलेको आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जित्न भने सकेको छैन् । टोलीले पछिल्ला पाँच सिजनमा चार पटक प्लेअफमा स्थान बनाएको थियो ।