घोडाघोडी कलस्टरमा आबद्द विद्यालयहरुलाई सिएस अस्पतालले उपचारमा छुट दिने, क-कसले लिन पाउनेछन् सेवा

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा अवस्थित सिएस अस्पतालले संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिमा आबद्ध विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूलाई उपचारमा छुट दिने भएको छ । संस्थागत विद्यालयहरूको साझा सङ्गठनको रूपमा रहेको विद्यालय घोडाघोडी कलस्टर समिति र सिएस अस्पताल प्रशासनबिच उपचारमा विभिन्न छुट दिने विषयमा सम्झौता भएको हो ।

विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूलाई ओ.पी.डी र ईमेरजेन्सी टिकटमा २० प्रतिशत छुट, शल्यक्रिया शुल्क र बेड भर्नामा १५ प्रतिशत छुट गर्ने समझदारी भएको कार्यक्रममा अस्पतालका सञ्चालक विष्णु सापकोटाले जानकारी दिएका थिए ।

त्यस्तै ल्याब टेस्ट, एक्सरे, ई.सी.जी. र ईकोमा १० प्रतिशत छुट तथा सबै प्रकारका औषधिहरुमा ५ प्रतिशत छुट दिने सहमति भएको कुरा कार्यक्रममा सम्झौता पत्र पढ्दै सापकोटाले बताएका थिए ।

संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिका अध्यक्ष रविलाल आचार्य र अस्पतालका प्रबन्धक निर्देशक विष्णु प्रसाद सापकोटा बिच शिक्षक/शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूलाई छुट दिने विषयमा सम्झौता भएको हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि यो सुविधाले सहज हुने अपेक्षा समेत गरिएको छ ।

अभिभावकमा कार्यरत कर्मचारी र विद्यार्थीहरुका आमाबुवाले मात्रै यो सुविधा लिन पाउने छन् । विद्यार्थी वाहनमा दुर्घटनाका सबै मानिसहरूलाई यो सुविधा रहेको जनाएको छ ।