एजेन्सी । भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपाली सहित १३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो । तर, उनीहरूको नेपालको स्थानीय ठेगाना भने समाचारमा खुलाइएको छैन् ।
बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो । यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फालेका थिए ।
जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो । जसले किच्दा उल्लेखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यीमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको छ । ४ पुरुष र २ महिलाको पहिचान भने खुल्न बाँकी छ । १० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।













