कैलाली । पछिल्लो समय जताततै प्रयाेग भइरहेको ‘ढोग दिया’ शब्दको दुरुपयोग भइरहेको भन्दै देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति जनाएको छ।
देउडा संकृति संरक्षण प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले एक विज्ञप्ति जारी गर्दै भूगोल विशेष क्षेत्र, सम्प्रदाय तथा समुदायसँग जोडिएको संस्कृति परम्परालाई अपमानित गर्ने खालका गीत संगीत प्रसारणमा रोक लगाउन सम्बन्धित निकायलाई माग गरेका छन् ।
अध्यक्ष सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा-संस्कृतिलाई होच्याउने खालका गीत संगीतप्रति आपत्ति जनाउँदै संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत संगीत तथा विषयवस्तु प्रकाशन, प्रसारण गर्ने र तयार गर्नेहरूलाई कारबाहीको माग समेत गरेका छन् ।
काली-कर्णालीको मौलिक सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूको खिल्ली उडाउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ।













