स्पष्ट नीति नभएका कारणले बजेट विनियोजनका सम्बन्धमा विभिन्न कुराहरू उठ्ने गर्छन-मुख्यमन्त्री शाह

क्याम्पसको शैक्षिक भवन शिलान्यास तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपालमा बजेट विनियोजनका लागि कुनै स्पष्ट नीति नभएको बताएका छन् ।

शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास तथा स्मारिका विमोचन कार्यक्रममा पुगेका मुख्यमन्त्री शाहले नेपालमा स्पष्ट मापदण्ड नहुँदा बजेट विनियोजनका सम्बन्धमा विभिन्न कुराहरू उठ्ने गरेको बताएका हुन् ।

घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन (बी) को शिलान्यास गर्दै मुख्यमन्त्री शाह

नेपालमा बजेट विनियोजनका सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तह कसैसँग पनि स्पष्ट नीति नहुँदा जहिले पनि बजेट विनियोजनका सन्दर्भमा प्रश्न चिन्ह खडा हुने गरेको उनले बताए ।

क्याम्पसको मुखपत्र स्मारिका विमोचन गर्दै मुख्यमन्त्री कमल बहादुर शाह साथमा घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावत र उपप्रमुख गुलिया कुमारी चौधरी

यस्तो अवस्था हुँदा बजेट विनियोजनका बखत प्रश्न उठ्न नदिन स्पष्ट नीति तथा मापदण्ड बनाएर अगाडि बढ्नु पर्ने कुरामा पनि मुख्यमन्त्री शाहले जोड दिए । “चाहे पालिका होस्, चाहे सङ्घ होस्, चाहे प्रदेश होस्, स्पष्ट नीति नभएका कारणले स्पष्ट मापदण्ड नभएका कारणले बजेट विनियोजनका सन्दर्भमा विभिन्न कोणबाट विभिन्न किसिमका कुराहरू उठ्ने गर्छन्,” उनले भने, “कहीँ यसको समाधानका लागि सबै तहका सरकारहरू जिम्मेवार हुन जरुरी छ, स्पष्ट मापदण्ड निर्माण गर्न पनि जरुरी छ ।”

भर्खरै उच्च स्तरीय आर्थिक समस्या समाधान समिति, सुझाव संकलन समिति निर्माण भएको र त्यसमा आफूहरूले यी कुराहरू उठाएको उनले बताए ।

भवनको शिलान्यास तथा क्याम्पसको मुखपत्र स्मारिका विमोचनमा घोडाघोडी पुगेका मुख्यमन्त्री शाहलाई विभिन्न माग राख्दै क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाह, क्याम्पसका तर्फबाट ज्ञापन पत्र बुझाउँदै सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई

कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावतले पनि यस क्षेत्रको शैक्षिक विकासका लागि प्रदेश सरकारलाई जहिले अग्रसर भइदिन अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा क्याम्पसको मुखपत्र स्मारिका प्रकाशनका लागि अहोरात्र खटिएर सहयोग गरेको भन्दै क्याम्पसका उपप्राध्यापक बालुराम जोशीलाई सम्मान गरिएको थियो ।

Share