कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले निजी क्षेत्रका लगानीकर्ताहरूलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गरेका छन् ।
बिहीबार कैलालीको लम्कीमा महोत्सवलाई गर्दै मुख्यमन्त्री शाहले रोजगारी सिर्जना गर्ने उद्योगहरू खोल्न र उद्यमशीलता अघि बढाउन इच्छुक निजी क्षेत्रलाई प्रदेश सरकारले आवश्यक पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । ‘निजी क्षेत्रका साथीहरू रोजगारी सिर्जना गर्न उद्यम गर्न चाहनुहुन्छ भने गर्नुहोस,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यक पर्ने सडक, बिजुली र पानीको व्यवस्थापन गर्छ ।’
शाहले सुदूरपश्चिमको पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको र यसका लागि विगतमा थुप्रै प्रयास भएको स्मरण समेत गरेका थिए ।
बडिमालिकाको प्रचार प्रसारका लागि एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र योग गुरु बाबा रामदेवलाई पहिलो पटक खप्तड क्षेत्रमा पुर्याइएको उल्लेख गर्दै, रामारोशन क्षेत्रका सडक निर्माणका लागि प्रदेश सरकारले ठूलो लगानी गरेको पनि बताए ।
ऊर्जाका क्षेत्रमा, बेतन कर्णालीदेखि विभिन्न जलविद्युत परियोजनाको काम अघि बढाइएको बताउँदै उनले गेटा मेडिकल कलेज सञ्चालनका लागि पनि पहल भइरहेको जानकारी दिए ।













