काठमाडौं । वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २१ वर्षीया रचना परियार र डोटीको बडीकेदार गाउँपालिका-२ घर भई काठमाडाैंको तारकेश्वर नगरपालिका-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोका मगर रहेको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रचनाले वैदेशिक रोजगारीमा हङ्गेरी पठाइदिने भन्दै दुई जनाबाट १८ लाख रुपैयाँ उठाएर सम्पर्क विहीन भएकी थिइन् । यस्तै प्रकाशले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ उठाएर सम्पर्क विहीन भएका थिए ।
दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताएका छन् ।













