डडेल्धुरा । नेपाल सरकारकी परराष्ट्र मन्त्री रहेकी डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर नै जारी गरेको छ ।
कांग्रेस डडेलधुरा सभापति भीम बहादुर साउँदले एक विज्ञप्ति जारी गर्दै पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका छन् । कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी मन्त्री राणा शुक्रबार डडेलधुरा पुग्दैछिन् ।
सोही अवसरमा राणाको स्वागतार्थ शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित उपस्थित हुन साउँदले एक विज्ञप्तिमार्फत निर्देशन दिएका छन् ।
उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।’
आर्जु राणा मन्त्री बनेपछि पहिलो पटक गृह जिल्लामा आउन लागेकी हुन् ।














