बझाङको घट्टेखोला लघु जलविद्युत आयोजना महिनौँदेखि बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य, सम्बन्धित निकाय मौन

बझाङबझाङको छबिसपाथीभेरा गाउँपालिका-७ मा रहेको घट्टेखोला लघु जलविद्युत महिनौँदेखि बन्द अवस्थामा रहेको छ । जलविद्युत बन्द हुँदा नौरा घट्टेगाउँका बासिन्दा डेढ महिनादेखि अन्धकारमा रात बिताउन बाध्य रहेका छन् । गाउँमा भएको लघु जलविद्युतको सेवा बन्द भएपछि आफूहरूले सास्ती खेपीरहनु परेको स्थानीयको दुखेसो छ ।

घट्टेखोला लघु जलविद्युत करिब डेढ महिनादेखि अवरुद्ध भएको स्थानीय सुवास मण्डेलले जनाएका छन् । ‘विद्युत् सेवा अवरुद्ध भएपछि अन्धकार रात त यहाँको दैनिकी नै भयो । दैनिक जसो गरिने काम काज पनि प्रभावित बनेको छ,’ उनले भने, ‘विद्यार्थीलाई लेखपढ गर्न समस्या भएको छ । मोबाइलमा चार्ज नभएर कतिपय स्थानीय बासिन्दा सञ्चार विहीन भएका छन् भने कतिपयले नजिकै बुडखोरीको विद्युतबाट मोबाइल चार्ज गर्न जाने गरेका छन् ।’

विद्युत सेवा अवरुद्ध भएको लामो समय भइसक्दा पनि सुचारु हुने केही सुरसार नै देखिएको छैन् । विद्युत उपभोक्ता समिति र स्थानीय सरकारले पनि यस विषयमा चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् । सानो क्षमता भएको लघु जलविद्युत आयोजनाको डाइनामा बिग्रिएपछि मर्मत गर्न नसक्दा बन्द भएको उपभोक्ताले बताएका छन् ।

लामो समयदेखि सञ्चालन हुँदै आएको ४ किलोवाट क्षमताको डाइनामामा अहिले खिया लागेर बिग्रिसकेको विद्युत अपरेटर कलक मण्डेलले जानकारी दिए । मेसिन नै ल्याउनु पर्ने र प्राविधिकलाई बोलाएर मात्र काम गर्न सकिने उनको भनाइ छ । ४ किलोवाट उत्पादन हुन सक्ने घट्टेखोला लघु जलविद्युत आयोजना रकम अभाव, सम्बन्धित निकायको ध्यान नजानु र मर्मत सम्भारको अभाव लगायतका कारणले अलपत्र हुने सम्भावना देखिएको स्थानीयको गुनासो छ ।

Share