कैलालीको गोदावरीका अविरल वर्षाले चार घर भत्किए

कैलाली । बिहीबार साँझदेखि अविरल रूपमा परेको वर्षाले कैलालीको गोदावरीमा चार घर भत्किएका छन्। शुक्रबार परेको अविरल वर्षाले गोदावरी नगरपालिका- १ र ११ मा ४ घर भत्किएका हुन्।

वर्षाले गोदावरी नगरपालिका- १ वसन्तपुरको आदर्श टोलकी कलावती भट्टको घर भत्किएको वडा सदस्य गम्बिर साउँदले बताएका छन्। घर भत्किएपछि उनलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

यस्तै गोदावरी नगरपालिका-११ गणेश मन्दिरमा रहेको नवराज पनेरुको घर भत्किएको छ। टिन र ढुङ्गाले बनेको कच्ची घरको दिवाल भत्किएपछि उनलाई आफन्त लाल मणी पनेरुको घरमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

त्यसै वडा नम्बर ११ गणेश टोलका देवराज ढोली र जोगी दमाइको घर पनि लगातारको वर्षाले भत्किएको छ। घर भत्किएपछि देवराजको परिवारलाई आफन्त राधिका ढोली र जोगीको परिवारलाई आफन्त मधुरा दमाइको घरमा सारिएको प्रशासनले जनाएको छ।