विदेश पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा कलाकार सुलेमान शङ्कर ‘ईकु’ पक्राउ

काठमाडौंहास्य कलाकार सुलेमान शङ्कर (इकु) भन्ने सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकार भिसामा मानिसलाई युरोपलगायत देशमा पठाइ दिने भन्दै रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।

ललितपुरको धापाखेलका ४० वर्षीय इकुले युरोप, अष्ट्रेलिया, क्यानडालगायत देशमा हुने सांस्कृतिक कार्यक्रमहरूमा कलाकार बनाएर लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैङ्कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएर उनले ठगी गरेको पाइएको छ ।

यसरी रकम जम्मा गरेपछि विदेश पठाउन तयारी भइरहेको छ भनेर लामो समयसम्म झुलाउने र पैसा लिएकाहरूसँग सम्पर्क विहीन हुने गरेको समेत रहेको बोगटीले बताए ।

उनलाई यही भदौ २५ गते काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौँडाबाट पक्राउ गरी आज अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताएको छ ।

Share