भागबन्डा मिलाउन गण्डकीमा सात सदस्यीय मन्त्रिमण्डललाई ९ सदस्यीय बनाउने कांग्रेस र एमालेको सहमति

कास्की । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा हाल कायम रहेको सात सदस्यीय मन्त्रिमण्डललाई नौ सदस्यीय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।

नयाँ सत्ता समीकरणअनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार वटा मन्त्रालय लिने सहमति भएको छ । आउँदो आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्ग्याएर मन्त्रीहरूको शपथ गराउने तयारी रहेको बताइएको छ ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई समेत समेटेर सरकार पुनर्गठन गर्ने कांग्रेसले जनाएको छ ।

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सात वटा बनाइएको थियो । तर अहिले दलहरूबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमति भएको हो । 

Share