कैलाली । आज सुदूरपश्चिमीहरूलाई ओल्के पर्व मनाइँदै छ । काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व हर्षउल्लास पूर्वक मनाइँदैछ।
साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहि आएको छ।
ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ।
यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यसरी बनाइएको थुप्रोलाई असोज सक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ।













