फ्राइडे रिलिज : सिनेमा हलहरूमा आजदेखि ‘नम्बरी सुन’ प्रदर्शनमा

काठमाडौं । सिनेमा हलहरूमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउन लागेको छ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा प्रेम, संवेदना, र व्यङ्ग्यलाई समेटिएको छ । चलचित्रमा अभिनेता सरोज खनाल मुख्य भूमिकामा रहेका छन् । सरोजले चलचित्रमा एक मुखियाको भूमिका निर्वाह गरेका छन्, जसलाई उनले यसअघि गरेका चलचित्रहरू ‘पञ्चायत’ र ‘मोदीबेनी’मा निभाएका भूमिकाहरूभन्दा फरक रहेको बताएका छन् ।

चलचित्रले मुखियाको पात्रलाई युवावस्थादेखि वृद्धावस्थासम्मको जीवनका विभिन्न चरणहरूमा देखाउन खोजेको छ । चलचित्रमा अभिनेत्री नम्रता सापकोटाले प्रेम प्राप्तिका लागि सङ्घर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेकी छन् ।

साथै, गौरव पहारी, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने लगायतका कलाकारहरूको पनि सशक्त अभिनय यस चलचित्रमा देखिन्छ । चलचित्रको कथा र पटकथा शिवम् अधिकारीले लेखेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, र गौतमराज खड्काको सम्पादन चलचित्रमा समावेश छ ।

निर्देशक राजु गिरीले यस चलचित्रलाई आफ्ना अघिल्ला फिल्महरूभन्दा उत्कृष्ट भएको दाबी गरे । चलचित्रको प्रचारप्रसारमा फरक शैली अपनाइएको छ । प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने घोषणा गरेका छन् ।

खल्ती एपबाट टिकट काट्ने पाँच जना र अरु सात जना दर्शकलाई गोलाप्रथाबाट छनोट गरिनेछ । नारायण खाती स्वयं सुन व्यवसायी हुन, र चलचित्रको कथा आफ्नो पेशासँग सम्बन्धित रहेकोले पहिलो पटक फिल्म बनाएको उनले बताए ।

Share