माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

तस्बिर : सेतोपाटी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक शुक्रबारदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्‍न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको जनाइएको छ ।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्य योजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा समेत छलफल हुने उनले बताए ।

त्यसअघि आजै बिहान ११ः०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने माओवादी केन्द्रले जनाएको हो । माओवादी केन्द्र सङ्गठन सुदृढीकरणलगायत अभियानसहित जनतामाझ जाने भएको छ ।

माओवादीले सङ्घीय र प्रदेश सरकारमा रहेका बेला गरेका कामबारे जनतालाई जानकारी समेत गराउने तयारी गरेको छ । यसअघि गत वर्ष माओवादीले ‘जनतासँग माओवादी’ चार महिने विशेष रूपान्तरण अभियान चलाएको थियो ।

यही साउन ११ देखि १५ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले फेरि रूपान्तरण अभियान चलाउने विषयमा छलफल गरेको हो । पार्टीका उपमहासचिव वर्षमान पुनले स्थायी कमिटी बैठकले अभियानका एजेण्डा बनाउने बताएका छन् ।

अभियानका क्रममा पार्टी महाधिवेशनको तयारी, सङ्गठन सुदृढीकरण डेढ वर्षमा गरेका कामहरू जनतामा लैजाने उनले बताए । ‘हामीले जनतासँग कांग्रेस-एमाले सरकार बन्नुका आधारहरूका बारेमा पनि खुलस्त कुरा गर्छौं,’ पुनले भने, ‘दलालहरू, बिचौलियाहरू कसरी खेले, कसरी हाबी भए कसरी खेले भन्ने बारेमा जनतालाई सूचित गर्ने र ०८४ को निर्वाचनलाई पनि फोकस गरेर अभियान कुराकानी  पदाधिकारी बैठकमा भएको छ ।’

०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धामा जानु पर्नेमा अधिकांश पदाधिकारीले मत राखेका थिए । स्थायी कमिटीमा पनि पदाधिकारी बैठकमा उठेका कुराहरूलाई नै एजेण्डा बनाएर जाने माओवादीले निर्णय गरेको छ ।

२०७८ पुसमा बोलाइएको राष्ट्रिय सम्मेलनलाई नै माओवादीले पार्टीको आठौँ महाधिवेशन भनेको थियो । त्यतिबेलै माओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने र कमिटी चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो । तर २०८० फागुन १ मा भएको विधान सम्मेलनले फेरि एक वर्षभित्रमा विशेष अधिवेशन गर्ने निर्णय ग¥यो

माओवादीमा निर्धारित मितिमा विधान महाधिवेशन गरेर नेतृत्वमा निर्वाचन हुनुपर्ने माग जवरजस्त उठेको छ । त्यसैको तयारीका लागि  अभियान चलाउन लागिएको माओवादीले जनाएको छ ।
 

Share