कैलाली । कैलालीको घोडाघोडीमा एक सरकारी विद्यालयको जमिन कौडीको भाउमा भाडामा दिँदा ठेकेदारले रजाइँ गरिरहेका छन् । घोडाघोडी नगरपालिका-३ निम्दी स्थित सरस्वती आधारभूत विद्यालयको करिब ४ बिगाहा १० कट्ठा क्षेत्रमा फैलिएको जग्गामा रहेको बढैया ताल कौडीको भाउमा ठेक्का दिएको छ ।
वि.स २०७४ बैशाख देखि लागू हुने गरि १८ वर्षका लागि विद्यालय व्यवस्थापन समितिले जग्गा ठेक्कामा दिएको पाइएको हो । तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष नभएका कारण जेष्ठ सदस्यको अध्यक्षतामा उक्त निर्णय भएको पाइएको छ । १८ वर्षको लागि खडक बहादुर बोगटी र रबीलाल आचार्यलाई उक्त जग्गामा रहेका बढैया ताल ठेक्कामा दिइएको थियो । बोगटी र आचार्यलाई वार्षिक रुपमा दुई किस्तामा १ लाख ७० हजार विद्यालयलाई दिने गरी ठेक्का दिएकाे थियाे । प्रत्येक ६ वर्षमा १० प्रतिशतले वृद्धि हुने गरी उनीहरूसँग विद्यालयले सम्झौता गरेको थियाे ।

तर, विद्यालयले जग्गा बोगटी र आचार्यलाई ठेक्कामा दिएको भए पनि उनीहरूले भने तेस्रो पक्षसँग सम्झौता गरि उक्त जमिन अरूलाई नै ठेक्कामा दिईएको पाइएको छ । उनीहरुले प्रदीप शाहसँग वार्षिक ७ लाख आउने गरि ठेक्का दिएका छन् । विद्यालय मातहतको जग्गा कौडीको भाउमा भाडामा लिएर उनीहरूले तेस्रो पक्षबाट लाखौँ रकम हात पारि रहेका छन् । तेस्रो पक्षबाट लाखौं रकम हात पार्दै विद्यालयलाई सम्झौता अनुसारको मात्रै १ लाख ७० हजार रुपैयाँ बुझाउने गरेको कुरा बाहिरिएपछि पछिल्लो समय चौतर्फी विवाद भैरहेको छ ।
आफू निकटका व्यक्तिलाई निक्कै सस्तोमा जग्गा भाडामा दिएर घोटाला गरेको तथा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनका पदाधिकारीको मनोमानीका कारण विद्यालयको स्वामित्वमा रहेका ताल चल्तीको मूल्यभन्दा ज्यादै सस्तोमा दिइएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को विद्यार्थी सङ्गठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का नारायणी सहइन्चार्ज लाेकेश जाेशीले बताए ।
विद्यालयकाे जमिन ठेक्का पाएकाे पक्षले तेस्रो पक्षसँग लाखौँ रुपैयाँ तालबाट लिने गरेको घटना बाहिरिए पछि हाल उक्त सम्झौता नै खारेजीको माग समेत भैरहेको छ । साथै सरकारी विद्यालयको जग्गा त्यति लामो समयका लागि ठेक्का सम्झौता गर्नु नै गलत रहेको स्थानीयकाे भनाई छ । ‘विद्यालयको जग्गा त्यति लामो समयसम्मका लागि ठेक्का सम्झौता गर्नु नै गल्ति हो, विद्यालय व्यवस्थापन समिति सदस्य सरस्वती बोहराले भनिन्,’ ‘विद्यालयलाई कुनै फाइदा छैन् तेस्रो पक्षले ७ लाख बुझाई रहेको छ तर विद्यालयले १ लाख ७० हजार मात्रै पाइरहेको छ ।’
यता विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद गौतमले भने तेस्रो पक्षलाई ठेक्का दिएको बारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिँदै पन्छिन खोजेका छन् । ‘तेस्रो पक्षलाई ठेक्का दिएको विषयमा संस्थालाई आधिकारिक जानकारी केही आएको छैन्,’ प्रअ गौतमले भने, ‘संस्थालाई थाहा भएको भनेको खडक बहादुर बोगटी र रबीलाल आचार्यलाई ठेक्का दिएको हो बाँकी थाहा छैन् बाहिर कुरा आएको छ । अब वडाध्यक्ष, व्यवस्थापन समिति सबै बसेर नै छलफल गरेर उहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यही अनुसार प्रक्रिया अगाडि बढ्ने हो ।’
प्रअले आफूलाई उक्त कुरा थाहा नभएको बताए पनि बोगटी र आचार्यबाट जग्गा ठेक्कामा लग्ने व्यक्तिले भने आफूले जग्गा ठेक्कामा लिएको बताएका छन् । हाल बढैया तालमा माछा पालन गरिरहेका प्रदिप शाहले भने विद्यालयसँग आफूहरूले कुनै सम्झौता नगरेको र ठेकेदारसँग कुरा गरेर ठेक्कामा लिएको बताए । ‘हामीले ठेकेदारसँग लिएका हौँ विद्यालयसँग उहाँहरूको के के सम्झौता भयो त्यो हामीलाई थाहा छैन्,’ शाहले भने, ‘हामीले लिएको ३ वर्ष अघि देखि नै हो गत वर्ष पनि विवादमा आएपछि छोड्न खोजेका हौँ । मिलाउँछौँ भनेपछि काम अगाडि बढायौँ । तर फेरि विवादमा आएको छ । विद्यालयले फिर्ता लिन्छ भने हामीलाई कुनै समस्या छैन् हाम्रो कुरा भनेको ठेकेदारसँग हो । विद्यालयसँग कुनै गुनासो छैन् विद्यालयले त आफ्नो जग्गा फिर्ता लिन्छ त्यसमा आपत्ति छैन् ।’

सरकारी विद्यालयको जमिन तत्कालीन प्रधानाध्यापक पूर्ण राज जोशी र सञ्चालक समितिका पदाधिकारीको मिलोमतोमा कौडीको भाउमा ठेक्कामा दिएको प्रस्ट छ । उक्त जमिनलाई विद्यालयको राम्रो आम्दानीको स्रोत बनाइ आर्थिक रूपमा सबल बन्न सकिने देखिन्छ । तर, सरोकारवालाहरू तै चुप मै चुपको अवस्थामा हुँदा वर्षेनी विद्यालयले लाखौको घाटा व्यहोर्दै आइरहेको छ ।












