काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटले हराएको हो ।
नेपालले पहिलो २५-१८ हात पार्दै अग्रता लिँदा दोस्रो सेटमा १२-२५ ले पराजित हुँदा तेस्रो सेटमा २५-१७ ले विजयी हुँदै २-१ के अग्रता कायम गरेको थियो । त्यस्तै चौथो सेतमा १८-२५ ले पराजित नेपाल अन्तिम तथा पाँचौ सेटमा नेपाल १५-१३ ले विजयी हुँदै ऐतिहासिक जित हात पारेको हो ।
यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रङ्गशालामा भएको थियो । उक्त खेलमा नेपाल ३-२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।
काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलङ्का सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३-१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।












