डोटी । नेपाल राष्ट्र बैङ्क धनगढीले गरेको एक अध्ययन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेशबाट मात्रै १० हजार ३ सय ८९ जनाले श्रमस्वीकृति लिएका छन् भने करिब ६ लाख नेपाली भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएको अनुमान गरिएको छ ।
देशको राजनीतिक खिचातानीले उद्योग कलकार खाना सञ्चालनमा नआउँदा रोजगारीका अवसरहरू प्रयाप्त मात्रामा सिर्जित हुन सकेका छैनन् । भन्नेले त नेपाललाई कृषि प्रधान देश भन्छन् तर हाल भने अधिकांश नेपालीहरूले कृषि पेशा अङ्गाल्न छोडी सकेका छन् । विगतमा झण्डै ८० प्रतिशत नेपाली कृषि पेशामा आवद्ध रहेका थिए । तर कृषि जनगणना २०७८ ले भने ६०.४ प्रतिशत नेपाली कृषि पेशामा आवद्ध रहेका देखाएको छ । यसरी हेर्दा पछिल्लो समय कृषि पेशाबाट पनि नेपालीहरू दिनानु दिन विस्थापित हुँदै गइ रहेको देखिन्छ । तर कतिपय युवावर्ग भने स्वदेशमै केही गर्नुपर्छ भनेर यही केही गर्ने हुटहुटीले कुनै न कुनै व्यवसाय गर्दै छन् ।
पछिल्लो समय डाेटीका युवाहरु व्यावसायिक कृषि पेशामा आवद्ध भएका छन् । सुन्तला खेतीलाई नै मुख्य पेशा बनाएका छन् बडीकेदार गाउँपालिका वडा नं. २ छेडाका तारा सिं मटेलीले । सशस्त्र द्धन्द्धका बेला तहस नहस बनेको छेडा गाउँ हाल भने सुन्तला खेतीको लागि निकै उर्वर भूमि मानिन्छ । त्यही छेडा गाउँमा मटेलीले ४ सय बोट सुन्तला रोपेका छन् । विगत ५ वर्षदेखि नै व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । उनले हाल सुन्तलाका साना बुटा पनि रोपेका छन् । तर दुःखको कुरा त के भने उनका निरन्तर रुपमा फलिरहने ६०, ७० सुन्तलाका बोट भने यो पटक सुकेका छन् । ‘गत साल त राम्रै फलेका थिए यो पटक त फल्ने बोट सबै सुकी सके,’ मटेलीले भने, ‘कुन रोग लागेर सुके केही थाहा छैन् यस पटक केही छैन् अबका २,३ वर्षमा फेरि हुनेछन् अचेल नयाँ बोट साना छन् ।’
गत वर्ष मात्रै आठ लाखको सुन्तला बिक्री गरेको उनी बताउँछन् । स्वदेशमै कुनै पनि कामलाई राम्रोसँग गर्न सके खुसी स्वदेशकै कमाईले पाइने उनले अनुभव गरेका छन् । तारा मटेली सुन्तला खेतीमा मात्रै सीमित छैनन् । उनी सुन्तला खेतीसँगै बाख्रा पालनमा पनि लागेका छन् । सुन्तला खेती र बाख्रा पालनमा रमाइ रहेका छन् । छेडा गाउँमा मटेली जस्तै गाउँभरिका सबै मानिस सुन्तला खेतीमा संलग्न रहेका छन् । सुन्तलाका करिब ३ सय बोट भन्दा माथि सबैले रोपेका छन् । कृषि कर्ममा आवद्ध रहेका उनीहरु व्यावसायिक सुन्तला खेतीमा अगाडि बढी रहेका छन् ।
मटेली जस्तै बडीकेदारमा सुन्तला खेतीमा मनग्य आम्दानी गरी रहेका छन् वडा नं.४ टिमुट्टका चक्र बहादुर विठारीले । उनले पनि गत वर्ष आठ लाखको सुन्तला विक्री गरेका थिए । पेशाले उनी शिक्षक पनि हुन छेडामा रहेको कालिका आधारभूत विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराई रहेका उनी कृषि कर्ममा पनि निकै व्यस्त देखिन्छन् । दिउँसो विद्यालय जान्छन् साझ विहानको समयमा बारीमा व्यस्त हुन्छन् विठारी । उनले बारीमा झण्डै ७ सय सुन्तलाका विरुवा रोपेका छन् ।
‘सुन्तलाबाट लाखौं रुपैयाँ आम्दानी गर्छु भने विदेश किन जानु पार्यो,’ उनी भन्छन्, ‘रहरले त कोही जाने हैन बाध्यताले नै जाने हो तर एक पटक यतै केही गरौं । मैले यही सुन्ला विक्री गरेको आधारमा हेर्ने हो भने मासिक ५०/६० हजार आम्दानी हुँदै छ भने विदेशमा पनि त्यो भन्दा बढी कति नै कमाइ हुने होर ? यतै काम गरेर आर्थिक आर्जन गर्न सक्यो भने त परिवार पनि साथमा आफ्नो काम हो विरामी भएको बेला आराम गर्न पनि मिल्यो ।’
विठारी जस्तै उक्त गाउँमा पनि सबै जसोले कम्तिमा २,३ सय बोटभन्दा माथि नै सुन्तला रोपेका छन् । विभिन्न चुनौतीका बावजुत पनि बिठारी जस्तै बडीकेदारका युवा व्यवसायिक कृषि पेशामा आबद्ध भएका छन् । विगतका केही वर्ष यता सुन्तला खेतीमा निरन्तर रूपमा लागि रहेका बिठारी स्थानीय निकाय देखि प्रदेश सरकारले किसानका लागि केही नगरेको गुनासो गर्छन । ‘किसानका समस्यालाई समाधान गर्न तर्फ स्थानीय तह देखि केन्द्रीय सरकार पनि अग्रसर हुनुपर्ने हो’, उनी भन्छन्, ‘तर, विडम्बना कृषकलाई कसैले पनि वास्ता गर्दैनन् । समस्या समाधानको कुरा त धेरै परको हो । झोलामा कृषि गर्नेले अनुदान पाउँछन् वास्तविक किसानले केही पाउँदैनन् ।’
बडीकेदार गाउँपालिकाको वडा नं. ४ को टिमुट्ट र खेताली तथा वडा नं. २ को छेडा गाउँबाट मात्रै वार्षिक करिब ६० देखि ७० लाखको सुन्तला बिक्री हुने गर्दछ । त्यस क्षेत्रलाई मात्रै सरकारले सुन्तला पकेट क्षेत्र घोषणा गरि कृषकका केही समस्या समाधान गरि बजारीकरण गरिदिए मात्रै स्थानीय तहलाई राजस्व सङ्कलनमा ठूलो राहत मिल्ने छ । तर, स्थानीय तहको त्यता ध्यान जान सकेको छैन् ।
बडिकेदारका उक्त तीन गाउँका सम्पूर्ण किसानहरुले कम्तिमा पनि ३ सय बोट सुन्तला सबैले रोपेका छन् । उनीहरुले एउटा समूह बनाएका छन् ‘साथी भाई सुन्तला पकेट क्षेत्र’ । जसबाट विभिन्न किसिमका आवश्यक सामग्री वितरण गर्ने, औषधिहरु माग गर्ने, कहिले काहि बाहिरबाट अनुदानमा सुन्तलाका बेर्ना ल्याउने गर्दछन् ।
उक्त सुन्तला पकेट क्षेत्रका अध्यक्ष उपेन्द्र बहादुर जेठरा भने पछिल्लो समय स्थानीय तह देखि विभिन्न सङ्घ संस्थाले उत्पादनका लागि कुनै पनि कसरत बाँकी नराखेको तर बजारीकरणमा भने त्यति ध्यान नदिएको गुनासो गर्छन् । गाउँपालिकाको कृषि शाखाबाट र कृषि ज्ञान केन्द्र डोटीबाट विभिन्न किसिमका सहयोगहरु पाइएको जेठरा बताउँछन् ।
विगतका वर्षमा करिव १० वर्ष भारतका विभिन्न ठाउँमा काम गरी हाल स्वदेशमै केही गर्नुपर्छ भनी सुन्तला खेतीमा लागेका अर्का किषान हुन् बडीकेदार ४ नुवाकोट (चौका) का बीर बहादुर ताडी । उनी विगतका वर्षमा भारतका विभिन्न सहरमा कामका लागि भौँतारिए । त्यहाँ केही नभएपछि हाल आफ्नै देशमा केही गर्नुपर्छ भनी रात दिन कृषि कर्ममा जुटेका छन् । उनले सुन्तला खेतीको सुरुवात गरेको धेरै भएको छैन् । हाल आएर २ सय बोट सुन्तलाका रोपेका छन् जसमा १ सय बोट फल्न थाली सके भने १ सय बोट अझै राम्रोसँग फल दिने भैसकेका छैनन् ।
सुरुसुरुमा गाउँमा सुन्तला रोप्दा अरुले के गर्ने हो त्यति सुन्तला रोपेर भन्ने गरेको उनी सुनाउँछन् । ‘सुरुमा मैले आफ्नो बारीमा एकै पटक ५०/६० बोट सुन्तला रोप्दा गाउँका धेरै जस्तो मान्छेले यति धेरै सुन्तला रोपेर कहाँ विक्री गर्ने हो भनेर भन्थे,’ उनले भने, ‘त्यति खेर अरुको कुरालाई वास्ता नगरि आफ्नो काममा निरन्तर लागि रहे हाल आएर यहि सुन्तला पनि कम हो जस्तो लागि रहेको छ । घर आँगनमा रोड पुगेको छ । बोकेर लग्नु पर्दैन आफूले । धेरै लगाएर त्यतिकै लथालिङ्ग बनाउनु भन्दा आफूले मिहिनेत गर्न सक्ने जति रोेप्ने र मिहिनेत गर्ने गर्यो भने फाइदा हुन्छ ।’
कुनै बेला नुवाकोटमा पानी पिउनलाई सम्म पाउन पनि गाह्रो हुन्थ्यो । २०६९ सालमा नेवा नामक संस्थाले ‘नेपाल स्वास्थ्यका लागि पानी नेवा’ भन्ने आफ्नो नाराका साथ त्यो ठाउँमा पनि ‘नुवाकोट महेश्वर’ खाने पानीको योजना ल्यायो र उक्त योजना सफलतापूर्वक सम्पन्न गर्यो तत्पश्चात उक्त ठाउँमा पानी पिउन मात्रै हैन केही हदसम्म सिँचाईका लागि पनि प्रयाप्त मात्रामा छ । नेवाले खानेपानीको व्यवस्थापन गरिदिएपछि पानीको समस्या नभएको उनी बताउँछन् ।
त्यसै गरी नुवाकोट(महेश्वर)का गोपाल ताडी पनि कृषि कर्ममा रमाइ रहेका छन् । उनले पनि करिव ५ सय बोट सुन्तलाका लगाएका छन् । उनी दिनभर सुन्तला बारीमै व्यस्त हुन्छन् । उहाँहरु जस्तै गाउँमा सम्पूर्णले पछिल्लो समय २/३ सय बोट सुन्तला रोपेकै छन् ।
त्यस्तै वडा नं. ४ कै परिपुन्तडा पछिल्लो समय सुन्तलाको लागि परिचित छ । त्यहाँका युवाहरुले करिब ८ सय बोट भन्दा धेरै सुन्तला रोपेका छन् । उनीहरु सुन्तला बारीमै निकै व्यस्त देखिन्छन् । परिपुन्तडाका युवा अवको एक दुई वर्षमा गाउँपालिकामै सबै भन्दा बढी सुन्तला उत्पादन हुने गाउँमा आफ्नो गाउँ बनाउने धुनमा छन् ।
बडीकेदार गाउँपालिकाका विशेष गरेर वडा नं. १, २ र ४ मा सुन्तला निकै मात्रामा उत्पादन हुने गर्दछ । त्यहाँका युवा पछिल्लो समय कृषि कर्ममा जुटि रहेका छन् । वडा नं.२, ३ र ४ मा त झन अदुवा खेती पनि निकै फस्टाएको छ । त्यहाँका कृषक अदुवा खेतीमा पनि आत्मनिर्भर बनेका छन् । अदुवा खेतीबाट पनि उनीहरु मनग्य आम्दानी गर्दछन् । तर कृषकले अदुवाको भने बजारमा मुल्य पाउँदैनन् र कौडीको भाउमा विक्री गर्न बाध्य हुन्छन् ।
सम्पूर्ण किसानको समस्या एउटै छ बजारीकरणको । बजारीकबरणको उचित व्यवस्थापन भैदिए आफूहरु कृषिबाट नै मनग्य आम्दानी गर्न सक्ने उनीहरु बताउँछन् । बजारीकरणको व्यवस्थापनका लागि स्थानीय तह लाग्नुपर्ने साथीभाई सुन्तला पकेट क्षेत्रका अध्यक्ष उपेन्द्र बहादुर जेठराको भनाई छ । ‘बजारीकरणका लागि स्थानीय तहले पनि भूमिका खेलिदिएको भए हामीलाइ सजिलो हन्थ्यो,’ उनी भन्छन्, ‘स्थानीय तहले कोल्ड स्टोरको निर्माण गरिदिए वेमौसममा किसानले आफूले उत्पादन गरेका वस्तु विक्री गर्न पाए निकै राम्रो आम्दानी गर्न सक्छन् । यस तर्फ स्थानीय तहले सोचिदिए किसानको उद्धार हुने थियो ।’
जस्तो सुकै समस्या र चुनौति भएपनि युवाहरुले आफ्नो बल बुताले कृषि पेशालाई अगाडि बढाइ रहेका छन् । पालिकाले बजारीकरणको लागि पहल गरेर व्यापारीबाट कर लिन सके झन सुनमा सुगन्ध हुने छ ।













