कैलाली । शुक्रबार बझाङबाट यात्रु बस सङ्घीय राजधानी काठमाडौंतर्फ गैरहेको थियो । बस सडकमा गुडी रहेकै बेला माथिबाट पहिरो खस्दा बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।
बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडक माथिबाट खसेको पहिरो बसमै परेको थियो ।
सडकमा सबैभन्दा पछाडि रहेको उक्त यात्रु बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि बस पल्टाउन भने सकेन ।
पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडक भन्दा तल झार्न सकेन । उक्त ठुलो दुर्घटना हुनबाट जोगियो ।
अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।
मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमका पहाडी भेगमा पनि पहिरोको उच्च जोखिम यथावत रहेको छ ।













