बङ्गलादेशमा आरक्षणको विरोधमा प्रदर्शन, विद्यालय र विश्वविद्यालय बन्द

तस्बिर : एजेन्सी

एजेन्सी । बङ्गलादेशमा रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोधमा प्रदर्शन हुँदा ६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।

बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेकाहरुको छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो । आरक्षण प्रणालीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पु¥याएको देखिन्छ ।

शेख हसिना गत जनवरी महिनामा भएको चुनावमा जित हासिल गर्दै लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी भएकी छन् । उनी बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।

यसअघि सन् २०१८ मा पनि हप्तासम्म विरोधपछि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । तर गएको महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको हो ।

Share