सुदूरपश्चिममा साढे २ हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिँदा, ३९ जनाको उद्धार

काठमाडौं । अविरल रुपमा वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाको जनजीवन प्रभावित बनेको छ । सुदूरका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछाम गरी २ हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको हो । कैलालीमा ५ सय ७८ जना, कञ्चनपुरमा १ हजार ७ सय ३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १ सय ८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ ।

कञ्चनपुरमा घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा डुब्दा ७ महिने बालकको ज्यान गएको छ । कञ्चनपुरमा महाकाली र जोगबुडा नदी बस्तीमा पसेको छ । बेलडाँडी, भीमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको छ । कञ्चनपुरमा नदीमा डुबेर २ जना बेपत्ता भएका छन् ।

यसैबीच नेपालमा मनसुन भित्रिए यता मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७० जना पुगेको छ । जेठ २८ गतेदेखि आज बिहानसम्म बाढी पहिरो र चट्याङमा परेर ७० जनाको ज्यान गएको, ५ जना बेपत्ता भएका र ८६ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

जेठ २८ गतेपछि बाढी पहिरोका ९ सय ६६ घटना घटेका छन् । घटनामा ३ सय ३५ पशु चौपाया मरेका छन् ।   
 

Share